काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले ल्याएको संवैधानिक परिषद् अध्यादेशको विरोध गरेका छन्। समाजिक सञ्जालमार्फत डा. लोहनीले ६ जना सदस्य रहने संवैधानिक परिषद्मा तीन जनाले नै निर्णय गर्न पाउने गरी संशोधन गरिएकोप्रति व्यंग्यात्मकशैलीमा प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्।
‘आजको अध्यादेश प्रकरण हेर्दा प्रधानमन्त्रीजीलाई मेरो एउटा सल्लाह छ, अब संवैधानिक परिषद्मा अरु कोही नचाहिने र प्रधानमन्त्री एकजना भए पनि सबै निर्णय गर्न गणपूरक संख्या पुग्ने संशोधन राष्ट्रपति कहाँ पठाउनुस्,’ अध्यक्ष लोहनीले लेखेका छन्, ‘जारी हुने पक्कै छ, अनि जे गरे पनि हुन्छ।’
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। सरकारको उक्त कदमको अहिले चौतर्फी विरोध भइरहेको छ।



लाेकपाटी न्यूज

