विराटनगर। विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ। कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार ७७ वर्षको उमेरमा बिहीबार बिहान १ बजे विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।
रेग्मीका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कोइरालालाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो। तर अस्पताल भर्ना गरिएको २४ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको हो। कोइरालामा निमोनियाको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएको सचिव रेग्मीले बताए।
नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका कोइराला संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्। नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेको रेग्मीले बताए।
विराटनगर अहिले महानगरपालिका घोषित भइसकेको छ। अशोक नेपाली राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्।



लोकपाटी न्यूज

