नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु भएको छ। आइतबारदेखि सुरु भएको बैठकमा पार्टीको नाम फेर्नेदेखि सांसदलाई कारबाही गर्नेसम्मका एजेन्डा छन्।
आफ्नो प्रदेशको संगठनात्मक अवस्थाबारे केन्द्रीय समितिमा उनीहरूले गरेको रिर्पोटिङका आधारमा थप संरचना निर्माण गर्ने माओवादीको तयारी छ। नेकपा विघटनपछि के कति नेता कार्यकर्ता एमालेमा प्रवेश गरे भन्ने आँकडाको रिपोर्टिङ प्रदेश इञ्चार्जले गरेका थिए। आजको बैठकमा प्रदेश इञ्चार्जको रिपोर्टिङमा थप छलफल हुनेछ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्नेबारेमा छलफल गरेको थियो। त्यही आधारमा केन्द्रीय समितिमा प्रस्ताव आएको हो। आजको केन्द्रीय समितिको बैठकले यस विषयको टुंगो लगाउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
आजको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। नयाँ सरकार गठनबारे पनि बैठकमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। आइतवार सुरु भएको बैठकमा पार्टीको सांगठनिक अबस्थाका बारेमा नेताहरुले ब्रिफिङ गरेका थिए।
यस्तै, माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो। पार्टीमा फर्किन निर्देशन दिए पनि शनिवारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो। माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।



लोकपाटी न्यूज

