काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो।
शुक्रबार बसेकाे नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको थियाे। त्यस्तै कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ।
अध्यक्षसमेत रहेका ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन्। यसैगरी बैठकले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
बैठकले पूर्व माओवादी केन्द्र पक्षका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए।
बैठकले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय पनि लिएकाे छ।
बैठकले बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादललाई तोकेको छ । त्यसैगरी विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति गरिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको हाे।
सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिदा नेपाल समूह एमालेमै फर्किए पनि ओलीले उनीहरुसँग छलफल गरेका छैनन्। ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका हुन्।



लोकपाटी न्यूज

