प्रधानमन्त्रीको भ्रमण फलदायी हुन्छ : डा. भट्टराई

Dr. rajan Bhattarai01
लाेकपाटी न्यूज

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आइतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वर्ल्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने जनाए । उनले भने, ‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ । अब आर्थिक विकास र समृद्धिलाई बढावा दिइरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ ।’

मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । ‘मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पुर्‍याउनेछ,’ उनले भने ।

विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । उनले भने, ‘नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्नुहुन्छ ।’

नेपाल लगानीको लागि अनुकुल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने बताउँदै उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त फोरम हो ।’

प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा विभिन्न देशका सरकार प्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्