प्रतिक्रियावादीकाे षड्यन्त्रलाई शान्तिपूर्ण जनविद्रोहले चकनाचुर गर्न सकिन्छ : प्रचण्ड

Prachanda-20
लोकपाटी न्यूज

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन्। बिहीबार सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताका आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफू चिन्तित र आक्रोशित भएको बताएका छन्।

उनले राष्ट्रिय स्वाधिनताको लडाइँ पूर्ण नभएकाले लडाइँ बाँकी रहेको बताए। ‘यो प्रतिक्रियावादी देशी विदेशीहरुले नेपालको राष्ट्रिय स्वाधिनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकचोटी जबर्जस्ती कुल्चिने दुस्साहस भइराखेको छ। म चिन्तित छु। म आक्रोशित पनि छु। म आफै आन्दोलित पनि छु। साथीहरु विचार गर्नुहोला,’ उनले भने, ‘हामीले राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरेकै हो । तर राष्ट्रिय स्वाधिनताको लडाइँ पूर्ण भएको छैन। हामीले अझै लड्न बाँकी छ भनेको त्यहींनिर हो।’

प्रचण्डले माओवादी आन्दोलनले ल्याएको उपलब्धि र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रीत गरेको बताए। आफूभित्र आवेग र आक्रोश रहेको भन्दै उनले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनीसमेत दिए ।

‘प्रतिक्रियावादी तत्वहरु यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि प्रचण्ड नै छ तपाईंहरुलाई मन परे पनि, मन नपरे पनि । त्यो प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान । भ्रममा कोही नरहनुहोला,’ उनले भने, ‘मैले भने नि, मभित्र फेरि एकचोटी आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटी विद्रोह गर्ने अधिकार हुन्छ ।’

उनले आफू वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न तयार रहेको बताएका छन्। अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्दतिर संकेत गर्दै फेरि एक ठाउँमा आउन आह्वान गरे । ‘हप्ता/दश दिन बसौं, कतिबस्‍नुपर्ने हो बसौ ’ उनले भने, ‘एउटा निष्कर्ष निकालौं । वैज्ञानिक समााजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु । तपाइको विचारमा तपाइहरू पनि लडिरहनु भएको छ ।

नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । प्रतिक्रियावादीले नेपालले प्राप्त गरेको उपलब्धिलाई निमोठ्ने र नेपाललाई कब्जामा राख्न सोचे हालसम्मका आन्दोलनबाट प्राप्त जागरणलाई केन्द्रित गरेर ‘कलरफूल रिभुलेसनमा लगि षड्यन्त्रलाई चकनाचुर पार्न सकिने पनि अध्यक्ष प्रचण्डले बताए।