काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीसँग आफ्ना माग र सत्ता समीकरणको विषयमा छलफल गर्न जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई, राजेन्द्र महतो बालुवाटार पुगेका हुन्। अध्यक्ष ठाकुरले आफूहरूका नेता, कार्यकर्ताका मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहरूको रिहाइलगायतका विषयमा छलफल गर्न आफूहरू बालुवाटारमा पुगेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीसँगको भेटमा हामीले हाम्रा साथीहरू, सांसदहरू जेलमा छन्। प्रदेशका मन्त्रीहरूमाथि मुद्धा छ। उनीहरूको रिहाइको विषयमा, मुद्धा फिर्ताको विषयमा कुरा गर्छौ।’ आफूहरूको माग पूरा नहुँदासम्म सत्ता समीकरणबारे कुरा नगर्ने अध्यक्ष ठाकुरले बताए।
‘सत्ता समीकरणको विषयमा हामीले केही कुरा गर्दैनौँ। हाम्रो एजेण्डा पूरा भएपछि मात्रै हामी सत्ता समिकरण बारे सोचौँला,’ ठाकुरले भने। यसअघि जसपाको पदाधिकारी बैठकले पाँच शीर्ष नेताहरूलाई दलहरुसँग छलफलको जिम्मेवारी दिएको छ।
बैठकले वर्तमान राजनीतिक संकटको निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे प्रमुख तीन राजनीतिक दलसँग संवाद गर्ने निर्णय गरेको थियो। यसअघि जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका थिए।



लोकपाटी न्यूज

