काठमाडौं। निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ। सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको निर्णय गरेको थियो।
यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो। सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन्। आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।
‘पत्र प्राप्त भैसकेको छ’, सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘हामीले त्यहीअनुसार सिट व्यवस्थापन गरिरहेका छौं।’ माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ। यद्यपि एमाले र माओवादी केन्द्रका सांसदहरूलाई सत्तापक्षकै छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाइएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको पाण्डेले बताए। यसअघि प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएका थिए। अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक फरक हुनेछ।


लोकपाटी न्यूज

