सरकार गठनका लागि कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने भएको छ। मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले कांग्रेस र जसपासँग वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग छलफल, वार्ता अगाडि बढाउने निर्णय गरेको छ,’ श्रेष्ठले भने। उनले एमालेसँग पनि यो विषयमा छलफल हुने तर प्राथमिकतामा कांग्रेस र जसपा रहेको प्रष्ट पारे।

साथै बैठकले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक र चैत १ कार्यकर्ता भेलाको पनि आयोजना गरेको उनले बताए। मंगलबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै छलफल नभएको श्रेष्ठको भनाई छ। माओवादीबाट सरकारमा रहेका मन्त्रीले पछिल्लो परिस्थिअनुसार आफ्नो दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अपेक्षा गरेको उनले बताए।

त्यसपछि मात्रै पार्टीले थप निर्णय गर्ने श्रेष्ठको भनाई छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकमा आगामी राजनीतिक परिस्थित र सत्ता समीकरणबारे छलफल भएको हो। सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको थियो। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा फर्काएको हो।