काठमाडौं । १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ।
यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो।
बैठकमा प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएका थिए। तर सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको भनी बचाउ गरे। त्यसपछि प्रचण्ड माधव समूहका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए।
त्यसपछि नेपाली कांग्रेसका सांसदहरुले पनि उठेर विरोध जनाए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदको मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश पेश गर्न नदिने अडान लियो।
सभामुख सापकोटाले कांग्रेसका विरोधका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए।
नाराबाजीका बीच सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे र त्यसपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।




लोकपाटी न्यूज

