काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले पार्टी संसदीय दलको नेता परिवर्तन भएको जानकारी संघीय संसद सचिवालयमा गराएको छ। आइतबार दिउँसो संसद सचिवालयमा पुगेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताले दलको नेता परिवर्तन भएको जानकारी संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई गराएका हुन्।
महासचिवको कार्यकक्षमै पुगेर प्रचण्ड-नेपाल समूहका नेताहरुले यस्तो जानकारी गराएका हुन्। शुक्रबार बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको दाबी गरेको छ। सोही जानकारी संसद सचिवालयमा गराइएको नेताहरुले बताएका छन्।
तर संसद् सचिवालयले नेकपा विभाजन भएको आधिकारिक पत्र नआएसम्म दलको नेता परिवर्तनसम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएको छ। संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षका सांसदहरु आफैँ उपस्थित भएर हस्ताक्षर प्रमाणिकरण गर्न थालेका छन्।
आज बसेको आन्दोलनरत नेकपाको संसदीय दलको बैठकले संसद सचिवालयल र सभामुखलाई संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएको औपचारिक जानकारी गराउने निर्णय गरेको थियो। संसद सचिवालयका महासचिव भरतराज गौतमले ‘परामर्श गरेर अगाडि बढ्ने’ बताएका छन्। उनले ‘कानुनी रुपमा बुझेर मात्र काम गर्ने बताउँदै’ पत्र दर्ता नगरेको सांसद अञ्जना विशंखेले जानकारी गराइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारढ दल दुई भागमा विभाजित भएको थियो। विघटन विरुद्ध प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा समेत उत्रिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदम गैर संवैधानिक ठहर गर्दै प्रतिनिधिसभा ब्युँताएपछि आज पहिलो पटक बैठक बस्दैछ।
सत्तारुढ दलभित्रको खिचातानीका कारण आजको प्रतिनिधिसभामा सबैको ध्यान खिचिएको छ। प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आएमा फेस गर्ने बताएका छन्।


लोकपाटी न्यूज

