चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक गुणस्तर परिणामका आधारमा विद्यालयहरूलाई पुरस्कार र दण्डको व्यवस्था गरिने बताएकी छिन् । बिहीबार चितवन माध्यमिक विद्यालय भरतपुरको ६५ आंै वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बौल्दै उनले यस्तो बताएकी हुन् ।
महानगरपालिकालाई परिणाममूखी शैक्षिक गतिविधि चाहिएकोेमा जोड दिंदै प्रमुख दाहालले भनिन्, ‘हिजो जे–जे, भयो त्यसलाई छोडांै, अब परिणाममूखी शिक्षा चाहिन्छ ।’ कार्यक्रममा दाहालले अबको आवश्यकता वैज्ञानिक र व्यावहारिक शिक्षा भएको बताउँदै शिक्षाको गुणस्तर वृद्धिबिना शैक्षिक विकास हुनै नसक्ने बताइन् । उनले शिक्षक, विद्यार्थी र अभिभावकहरूको सामूहिक प्रयास र दृढ संकल्पबाट शैक्षिक गुणस्तर विकास गर्न सकिने बताइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय निकायलाई माध्यमिक स्तरका शिक्षण संस्थाहरूको नियमन, अनुगमन र संरक्षण गर्ने दायित्व प्राप्त भएको जनाउँदै उनले भरतपुर महानगरपालिकाले सोही बमोजिम कार्यक्रमहरु अगाडि बढाइरहेको बताइन् । उनले शिक्षक, शिक्षिकाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोले महानगरपालिकाले सोही बमोजिम काम अगाडि बढाउनेसमेत बताइन् ।
उनले भरतपुरकै केन्द्रमा रहेको भौतिक रुपमा सबैभन्दा सम्पन्न चितवन माध्यमिक विद्यालयको शैक्षिक स्तर र विद्यार्थी संख्या न्यून हुनु दुःखद रहेको बताइन् । महानगर प्रमुख दाहालले साधन स्रोतको अधिकतम उपयोग गरी आउँदा दिनहरुमा शैक्षिक गुणस्तर र विद्यार्थी संख्या बृद्धि गरी अगाडि बढ्न विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीलाई निर्देशन दिइन् ।
प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी दिपेन्द्र सुवेदीले पर्याप्त स्रोतसाधन रहेको विद्यालयले शैक्षिक विकासमा फड्को मार्नुपर्ने धारणा राख्दै विगतलाई छोडेर जिल्लाकै नमुना परिणाम दिने दिशामा विशेष कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गरे । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले विद्यालयले ६५ वर्ष पार गरेकोमा विद्यालयलाई बधाई दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे ।
चितवन माध्यमिक विद्यालय जिल्लाकै सम्पन्न विद्यालय भएको बताउँदै न्यौपानेले यस विद्यालयले प्राविधिक शिक्षा सञ्चालन सुरु गर्न आग्रह गरे । चितवन माविमा अध्ययनरत विद्यार्थीहरुलाई आफूले विभिन्न सहयोग गरिरहेको बताउँदै उनले आउँदा दिनहरुमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विद्यालयमा अध्यनरत उत्कृष्ट छात्रछात्रा, चन्दादाता, शिक्षक, शिक्षिकाहरुलाई पुरस्कृत गरिएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको चितवन माध्यमिक विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म करिब ६ सय विद्यार्थी अध्ययनरत छन् ।



लाेकपाटी न्यूज

