सरकारविरुद्ध कडा आन्दोलन गर्ने ‘हान’को चेतावनी

HAAN
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । ९ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल ‘हान’ले प्रस्तावित दरबन्दी संरचना तत्काल फिर्ता गर्न सरकारसमक्ष आग्रह गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो ।

सरकारले प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे देशभरिका स्वास्थ्य चौकी ठप्प पार्ने, नियुक्ति पत्र जलाउने, सामूहिक राजीनामा दिने र अझै कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दाताराम अधिकारीले कार्य प्रकृति हेरी जिम्मेवारी प्रदान गर्नुपर्ने अडान राखेका छन् । उनले भने, ‘सरकारले हाम्रा मागहरु तत्काल सम्बोधन गर्नुपर्छ । हामीले विगत ९ दिनदेखि अत्यन्तै संयमित भएर संघर्ष गर्‍यौं । तर, राज्यले हाम्रो माग अहिलेसम्म सम्बोधन गरेको छैन । अब पनि राज्य गम्भीर नहुने हो भने हामी कडा संघर्षमा उत्रिन्छौं ।’

अधिकारीले यदि यही खालको दरबन्दी संरचना पारित गर्ने हो भने समग्र स्वास्थ्य क्षेत्र नै धराशयी हुनसक्ने चेतावनी दिए । त्यस्तै उनले यही कारणले मुलुकको संघीय प्रणालीमा समेत बाधा पुग्ने खतरा औंल्याए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आफूहरुले उठाएका जायज मागहरु सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले कर्मचारीलाई कार्य/जिम्मेवारी दिँदा सेवा प्रवेश गरेको नियुक्ती पत्रमा उल्लेखित पदअनुसार मात्र दिनुपर्ने अडान लिए ।

त्यस्तै, कार्यक्रममा संघका सल्लाहकार गोविन्द गिरीले सिँगो स्वास्थ्य सेवा प्रणालीलाई नै धराशयी बनाउनेगरि प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटाव हुनुको साथै स्वास्थ्य सेवा प्रवाहमा नै गम्भिर असर पर्ने चिन्ता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्