काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग सार्थक वार्ता गर्न सरकारसँग आग्रह गरेको छ। नेकपाको प्रचण्ड-नेपालले विप्लव नेतृत्वको पार्टीसँग वर्ता गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले इमादारीपूर्वक वार्ताको पहल भएको हो भने त्यसको आफूहरुले स्वागत गर्ने बताए। सार्थक वार्ताबाट राजनीतिक निकास खोज्ने विषय स्वागतयोग्य भएको उनले बताए। श्रेष्ठले भने, ‘हामी जहिले पनि वार्ताद्वारा राजनीतिक समस्याको राजनीतिक ढंगबाटै समााधान होस् भन्ने पक्षमा छौं। तर त्यसलाई स्टन्ट नबनाएर सार्थक रूपमा इमानदारीपूर्वक अघि बढाउनुपर्छ। हामीले जहिले पनि स्वागत गर्छौं।’
श्रेष्ठले आफूले पहिलेदेखिनै विप्लव नेतृत्वको पार्टीमाथिको प्रतिबन्ध लगाउने,अपराधी घोषणा गर्नेजस्ता कार्यको विरोध गरेको समेत बताए। सरकारले आज विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन्।
यता विप्लव नेतृत्वको नेकपाले पनि सरकारसँग वार्ता थाल्न प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ। वार्ता टोलीमा दीपक चलाउने सदस्य रहेका छन्।



लोकपाटी न्यूज

