काठमाडौं, १ माघ । सरकारले सहुलियत ऋण उपलब्ध गराउने घोषण गरेपछि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा २ महिनाको अवधिमा करिब २० हजारले निवेदन दर्ता भए ।
वैदेशिक रोजगारीमा गएकाहरुलाई उक्त सिपको उपयोग स्वदेशमै गराउन सरकारले सहुलियत ऋण उपलब्ध गराउने घोषण गरेको थियो ।
बोर्डका शाखा अधिकृत गोबिन्दप्रसाद आचार्यले कुल करिब २० हजारको संख्यामा बोर्ड सचिवालय मै आएर र अनलाइनबाट निवेदन परेको जानकारी दिए । ‘निवेदन बुझाउने अन्तिम दिन मात्रै झन्डै तीन हजारले दर्ता गरेका छन्,’ उनले भने ‘शुरुमा नबुझेर होला कमैमात्र आएका थिए । पछिल्लो दिन निवेदन दिनेको संख्या ह्वात्तै बढेको हो।’
बोर्ड सचिवालयको अनुसार सचिवालयमै आएर करिब १८ हजार सात सय जनाले निवेदन दिएका छन् भने बाँकी अनलाइनबाट आएका निवेदनहरु दर्ता भएका हुन्। वास्तविका तथ्यांक भने मंगलबार मात्रै आउने बताइएको छ ।
बोर्डका शाखा अधिकृत आचार्यले सचिवालयमा निवेदन दर्ता गर्न आउने कोही नछुटेको दाबी गरेका छन् । उनले संकलन गरिएका सम्पूर्ण निवेदनलाई बोर्ड सचिवालयले छानविन गर्ने बताए, जसमा मापदण्डअनुसार विदेशमा कम्तिमा छ महिना बसेको र स्वदेशमा फर्केको तीन वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ ।
माग भएअनुसार आवश्य कागजात, बेहोरा, मापदण्ड मिलेकालाई बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउनेछ । निवेदनकले पेश गरेको व्यवसायीक योजनाअनुसार नै बैंकले विश्वास गरेर बिना धितो ऋण दिने व्यवस्था गरिएको छ ।
संकलित निवेदनको आधारमा सकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पेशा र स्वरोजगारको पहिचान गर्नेछ । सो तथ्यांकको आधारमा सरकारले अगामी बनाउने नीति तथा कार्यक्रममा समावेश गदै जाने समेत बोर्डका प्रवक्ता तथा उपसचिव दिनबन्दु सुवेदीले बताए।
उनले अपेक्षाभन्दा बढी निवेदन आएको बताए । सरकारले बाध्यात्मक रूपमा आगामी पाँच वर्षभित्र वैदेशिक रोजगारलाई शून्यमा झार्ने लक्ष्यअनुसार स्वदेशमै स्वरोजगारको कार्यक्रम ल्याएको हो।
बोर्डले भने निवेदन संकलन र सिफारिस गर्न सहजीकरण मात्र गरेको हो । कर्जा दिने प्रस्तावना छनोट गर्ने लगायत सम्पूर्ण काम वाणिज्य बैंकहरुले गर्छन्। त्यसमा पनि बैंकहरूको आफ्नै निर्धारित कर्जाको ब्याजमा सरकारले पुरुषलाई पाँच र महिलाको लागि ६ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।



लाेकपाटी न्यूज
