दुल्लु, ३० पुस । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् ।
नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार उद्घाटन गर्दै उनले भने, ‘ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।’
उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै ‘अब काँग्रेस भित्रको टिके प्रथा अन्त्य हुन्छ’ भने ।
वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली काँग्रेसको एजेण्डा भएको बताए ।
नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।
समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे ।
नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरे ।



लाेकपाटी न्यूज

