डा. केसीविरुद्ध विजय थापाको अनशन

Bijaya Thapa
लाेकपाटी न्यूज

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् । काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दबाब र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै इलाममै अनशन बसेका छन् । बताइएअनुसार उनी डा. केसी अनशन बसेको स्थानभन्दा केही मिनेट पर अनशन बसेका छन् ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थालेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै डा. केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा. केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् ।

डा. केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेको यो १६ औं पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । डा. केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उहाँका निकट सहयोगी धर्म गौतम बताउँछन् ।

थापाले काठमाडौंं उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यो मागले समेत डा. केसीलाई चुनौती दिएको छ । डा. केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा छन् ।

थापाले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहन गर्न पन्तका हत्यारासहित सबै दोषीलाई फाँसीको सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपालमा एमडी तथा पिजी क्लासको दरबन्दी कम्तीमा एक हजार ५०० पुर्‍याउने व्यवस्था तत्काल गर्न, अध्ययनका लागि वर्षेनी विदेशिने रु. ७० अर्ब रोक्नका लागि प्लस टुमाथिको शिक्षा निःशुल्क गर्न, बङ्गलादेशबाट चिकित्सा विषय पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जनाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, खाडी मुलुकमा रगत र पसिना बेच्न बाध्य नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न आमरण अनशन बसेका थापाको माग छ ।

इलाममै जन्मिएका थापाले आफ्ना बुवा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको बताए । स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष वैशाख १३ गते काठमाडौंंको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको उनले जानकारी दिए ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलुस निस्कन थालेका छन् ।

अनशनबारे थापा भन्छन्, ‘गोविन्द केसी नाम होइन, प्रवृत्ति हो । नेपालमै चिकित्सा शिक्षा पढ्न नपाउँदा वर्षेनी ५ हजार विद्यार्थी विदेसिन्छन्, त्यत्रो पैसा विदेशमा पठाउने काम राष्ट्रहितमा छैन ।’

गोविन्द केसी अदृश्य शक्तिको उक्साहटमा लागेको थापाले आरोप लगाए । उनले डा. गोविन्द केसीमाथि छानविन हुनुपर्ने बताउँदै उनले यस्तो राष्ट्रघात गर्न नपाउने उनको भनाइ छ ।

थापाका एक सहयोगीले चिकित्सा शिक्षा अध्ययनका नाममा वर्षेनी अढाई अरब नेपाली सरकार विदेसिँदा पनि सरकार लाचार बनेको बताए । उनले भने, ‘चिकित्सा शिक्षाका लागि वार्षिक १० हजार विद्यार्थीले आवेदन दिन्छन्, नेपालमा पन्ध्र सय विद्यार्थीका लागि मात्र कोटा छ, बाँकी सबै विद्यार्थी विदेशिन्छन् । यसले देशलाई वार्षिक अढाई अरब घाटा भइरहेको छ ।’

उनले थपे, ‘एउटा डाक्टरले लाखौं विद्यार्थी हेर्नुपर्छ, डाक्टरले एउटा विद्यार्थीका लागि ३० सेकेण्ड पनि समय दिन सक्दैन, त्यस्तो देशमा बिरामीले कस्तो उपचार पाउँछ ?’

यसअघिको अनशनमा विजय थापाले यस्तो भनेका थिए :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्