जनयुद्धको बलमा युगान्तकारी परिवर्तन सम्भव भयो : प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा युगान्तकारी कदम भएको बताएका छन्। प्रचण्डले भने, ‘शान्ति सम्झौतामा गयौं, सेना समायोजन गर्यौ, हतियातार व्ययवस्थापन गर्यौं। ती आफैंमा ऐतिहासिक र युगान्तकारी प्रकृतिका छन्। कतिलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ। जे कर्म गरेका छौं, त्यो युगान्तकारी छ।’

जनयुद्ध दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा अध्यक्ष उनले शान्ति सम्झौतालाई सफल पार्न आफूहरूले खेलेको भूमिका दूरगामी रहेको समेत बताए। सबैभन्दा उत्पीडित र विभेदमा पारिएको वर्ग, समुदाय अगाडि आउनु इतिहासको आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीको नेता र युद्धको रणनीतिकारका रूपमा आफूले त्यो भूमिका पाएको बताए।

‘भएको त उत्पीडित समुदायको विद्रोह नै हो। मैले पार्टी नेताको हैसियतले, युद्धको रणनीतिकारका हैसियतले त्यो भूमिका प्राप्त गरेको मात्र हो,’ प्रचण्डले भने, ‘त्यसैको परिणाम अहिले गणतन्त्र र समावेशी, समानुपातिकको चरणमा आइपुगेका छौं।’

उनले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताए। उनले सहिदका सपना कुल्चिने प्रयास भए आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए। युद्धबाट आफू पनि थोरैले बाँचेको उल्लेख गर्दै उनले सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताए। जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति आफू वलिदानका लागि तयार रहेको पनि बताए।

प्रचण्डले भने, ‘हाम्रै आँखा अगाडि जनयुद्धका योद्धा र लाखौं जनताको पहलबाट प्राप्त उपलब्धि कुल्चिने दुस्प्रयास भएको छ। हामी सहन सक्छौं त ? आज हामीले नयाँ संकल्पन गर्ने अवसर पनि हो। तिनीहरूको बलिदानबाट प्राप्त उपलब्धि गुम्न दिने छैनौं। जरुरी परे हामी जो मर्नबाट बाँचेका छौं, जरुरी परे फेरि बलिदान हुन तयार बनौं।’