अर्घाखाँची। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संकटकाल लगाउन सक्ने बताएका छन्। विघटन गरेको संसद पुनर्स्थापना नभए देशमा संकटकाल लाग्न सक्ने केसीले बताएका हुन्। उनले संसद पुनर्स्थापनाको पक्षमा सबै दलहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताए।
केसीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षार्थ प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधव समूह, मधेसवादी दल लगायतका दलहरु एक भएर आन्दोलन गर्ने अवस्था श्रृजना भएको बताए। प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भारतको ईशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाए।
नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताए। उनले राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलहरु सँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताए। प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको जिकीर गरे। राष्ट्रपति संविधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिस विचार गरेर मात्र कार्यन्वयन गर्नु पर्ने बताए।



लोकपाटी न्यूज

