काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा ठूलो राजनीतिक समस्या नभएको बताएका छन् ।
आइतबार साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अब देशमा राजनीतिक रुपमा ठूलो समस्या छैन । दुई तिहाईको बलियो सरकार छ । यस्तोमा हाम्रो मूख्य एजेण्डा भनेकै विकास र समृद्धि हो ।’
तर, उनले दिगो रुपमा विकास र स्थायित्वका लागि साहित्यिक र भावात्मक रुपान्तरण हुनुपर्नेमा जोड दिए । ‘राजनीतिक परिवर्तन जबसम्म साहित्यिक, सांस्कृतिक रुपले भावात्मक रुपान्तरण हुँदैन तबसम्म राजनीतिक परिवर्तन दिगो रुपमा हुँदैन,’ प्रचण्डले भने, ‘साहित्य त्यस्तो साधन हो जसले मानिसहरुलाई सामर्थ्य राख्ने होश हुँदैन उसको अन्तरहृदयमा तरङ्ग पैदा गरेर एउटा नयाँ संस्कार दिने नयाँ शक्ति प्रदान गर्ने भावनात्मक रुपले नै अर्को ठाउँमा पुर्याउने भूमिका खेल्छ ।’
उनले राजनीतिले साहित्य, कला, संस्कृति तथा संगीतलाई भावनात्मक रुपान्तरण नगरेसम्म राजनीतिक परिवर्तन लर्खराउने र ढल्ने सम्भावना रहने उल्लेख गरे ।
पुस्तकले महिला सशक्तीकरण र महिला मुक्तिको विषय उठान गरेको उनले बताए । उनले आफूले नेतृत्व गरेको आन्दोलनमा पनि हजारौं महिलाहरुले बलिदान दिएको र उनीहरुको योगदानलाई इतिहासले सदैव सम्मान गर्ने र सम्झिरहने बताए ।



लाेकपाटी न्यूज

