कोरोना महामारीको कारण १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द

लोकपाटी न्यूज

काठमाडौं। कोभिड–१९ महामारीका कारण नेपालमा सञ्चालित उद्योग मध्ये १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको पाइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको ‘कोभिड–१९ ले औद्योगिक क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन रिपोर्टले यस्तो देखाएको हो।

उक्त अध्ययन रिपोर्ट अनुसार ८९.१९ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा छन्। महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको समय र त्यसपछि पनि कुनै उद्योग पूर्ण रुपमा सञ्चालनमा आएका छैनन्। पूर्ण रुपमा बन्द भएका लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत छ।

उद्योगको उत्पादन क्षमतामा समेत उल्लेख्य गिरावट आएको छ। ५४ प्रतिशत उद्योगले क्षमताको ५० प्रतिशत मात्र उत्पादन गरेका छन्। त्यसैगरी ३२.४३ उद्योगले क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरेका छन्। त्यस्तै, २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको छ। कोभिडले सबैभन्दा बढी समस्या उद्योगले उत्पादन गर्ने वस्तुको बजारीकरण वा बिक्रीमा परेको छ।

अध्ययन अनुसार सबैभन्दा बढी लघु उद्योगका श्रमिकले रोगगारी गुमाएका छन्। त्यस्तै, साना, मझौला र ठूला उद्योगका श्रमिकले रोजगारी गुमाएका छन्। प्रभावित उद्योगहरुले उद्योगलाई पहिलेकै अवस्थामा सञ्चालन गर्न ब्याजदरमा विशेष छुको माग गरेका छन्। त्यस्तै, सहुलियत दरको ऋण, कर छुट, विद्युत् डिमान्ड शुल्क उत्पादनको आधारमा तय गर्नुपर्ने, ऋणको भुक्तानी अवधी थप्नु पर्ने, भ्याट फिर्ता, घरभाडा छुट, विद्युत् महशुल दरमा छुट, श्रमिकको पारिश्रमिक कम्तीमा २ वर्ष बढाउन नहुने जस्ता माग गरेका छन्।

मन्त्रालयले २०७७ कात्तिक १७ देखि मंसिर १६ सम्म सबै वर्गका गरी ३७ उद्योगबाट तथ्यांक संकलन गरी उक्त नमुना अध्ययन गरेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्