काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला पार्टीभित्र एक्लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्यो तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन।
खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा विघटन भएको राजनीतिक वृत्तमा चर्चा रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसभित्र सुरुदेखि नै संसद पुनर्स्थापनाका लागि दबाब दिन सडक आन्दोलनमा उत्रिने कि सर्वोच्च अदालतको निर्णय पर्खिने भन्ने विषयमा मतान्तर हुँदै आएको छ।
संसद विघटन भएलगत्तै बसेको कांग्रेस पदाधिकारीको बैठकले संसद विघटन असंवैधानिक भएको र प्रधानमनन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो। तर, संसद विघटनलाई असंवैधानिक भएको निष्कर्ष निकालेपनि त्यसको विरोधमा तत्काल सडक आन्दोलनमा उत्रिने विषयमा भने सभापति शेरबहादुर देउवाले सहमत भएनन्।
पदाधिकारी बैठकपछि बसेको केन्द्रीय कार्यसमितिको बैठक संस्थापनइतर समूहका नेताहरुले संसद पुनर्स्थापनाको विकल्प नभएकाले तत्काल सडकमा उत्रिने पर्नेमा जोड दिएपछि सभापति देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन रहेकाले अदालतलाई दबाब दिने गरी कार्यक्रम गर्न नहुनेमा जोड दिएका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले तत्काल प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा उत्रिनु पर्ने अडान लिएपछि अन्नतः सभापति देउवाले संसद विघटनको विरोधमा प्रदर्शनसहितका कार्यक्रममा जान बाध्य भएका थिए।
संसद पुनर्स्थापनाभन्दा चुनावमा जोड दिएको भन्दै सभापति देउवाको पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको छ। तर, वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुले भने सुरुदेखि नै संसद पुनर्स्थापनामै जोड दिँदै आन्दोलनमार्फत् दबाब सिर्जना गर्नु पर्नेमा जोड दिँदै आएका छन्।



लोकपाटी न्यूज

