ओलीले आफ्नाे विराेधीलाई भीरबाट खसाल्छन् : डा‍. सुरेन्द्र केसी

Surendra kc
लोकपाटी न्यूज

काठमाडौं, २४ माघ। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले तोकिएकै मितिमा कुनै पनि हालतमा निर्वाचन नहुने भन्दै बरु आगामी मंसिरमा निर्वाचन हुनसक्ने स्पष्ट पारेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले यस विषयमा बाहिर टिकाटिप्पणी गर्न नहुने धारणा राखे। तर, दलका नेताहरुले भने बाहिर जथाभावी टिप्पणी गरेको उनको गुनासो छ।

साक्षात्कारमा बोल्दै उनले मंसीरमा निर्वाचन गराउनको लागि चुनावी सरकारको नेतृत्व नागरिक समाजका अगुवाई डा. सुन्दरमणि दीक्षितलाई दिनुपर्ने पनि बताए। उनले भने, ‘मेरो नेता उहाँ हो। हामी निष्पक्ष निर्वाचन गराउन सक्छौं। तर, मुलुकलाई निकास चाहियो नि। अहिलेको समयमा डा. दीक्षित उपयुक्त पात्र हो। मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन। अदालतको निर्णय चाँडो हुनुपर्छ। सबैले यो निर्णय मान्नुपर्छ।’

उनले जसको कारण संसद विघटन भएको हो, आज उनीहरुले नै अदालत र निर्वाचन आयोगलाई धम्की दिइरहेको भन्दै नेकपाको दाहाल–नेपाल समूहप्रति आक्रोश पोखे। उनले भने, ‘दलका नेताहरु आज निर्वाचन आयोग पुगेर चुनाव चिन्ह हामीलाई दिइनस् भने ठिक हुँदैन भनेर धम्की दिइरहेका छन्। यो गलत हो।’

उनले अहिलेको विवाद उत्पन्न हुनुमा सबैभन्दा बढी दोष संविधानको भएको भन्दै संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने थियो भन्दै नेकपामा दुई अध्यक्ष भएकोमा व्यंग्यात्मक टिप्पणी गरे। उनले भने, ‘संविधान सबैभन्दा ठूलो त्रुटी हो। यिनीहरुले संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्दथ्यो। एकजनाले आन्तरिक गृह चलाउने र अर्कोले विदेश हेर्ने गर्नुपर्दथ्यो। यिनीहरुले पार्टीमा त दुई जना अध्यक्ष बनाए। तर, दुई जना प्रधानमन्त्री हुने व्यवस्था गरेको भए अहिले लडाइँ नै हुँदैन थियो।’

उनले सत्तारूढ नेकपाको विवादको चुरो नै पदीय भागबण्डा भएको पनि तर्क गरे। उनले नेकपाले अहिले आएर लोकतन्त्रमाथि नांगो नाँच देखाएको पनि टिप्पणी गरे। केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाभावबारे कुरा गर्दै प्रतिशोध साँध्ने व्यक्तिको रुपमा चित्रण गरे। उनले भने, ‘ओलीमा प्रतिशोधी भावना छ। उनी शक्तिको लागि जुनसुकै हदसम्म पनि जान सक्छन्, आफ्ना विराेधीलाई भीरबाट खसाल्ने उनकाे स्वाभाव छ।’

उनले निर्वाचन त हुने तर त्यो निर्वाचन वैशाख १७ र वैशाख २७ गते भने नहुने दाबी गरे। उनले भने, ‘निर्वाचन हुने/नहुने हाम्रो हातमा पनि छ। निर्वाचन भए अब मंसिरमा हुन्छ। तर, वैशाखमा कुनै पनि हालतमा हुँदैन।’