विराटनगर। चालु आर्थिक वर्षमा विराटनगर नाकाबाट मात्रै १० अर्ब मूल्यको भटमासको तेल भारततर्फ निकासी हुने देखिएको छ। चालु आवको पुस मसान्तसम्ममा यस नाकाबाट झन्डै ५ अर्ब बराबरको भटमासको तेल भारततर्फ निर्यात भइसकेको हुँदा वर्षभरिमा १० अर्बको निर्यात हुनसक्ने देखिएको हो। भारत सरकारले गत वर्षदेखि नेपालबाट त्यसतर्फ जाने पाम तेलमा रोक लगाएपछि उद्योगीहरू भटमासको तेलको निर्यातमा केन्द्रित भएका हुन् । फलतः चालु आवमा भटमासको तेलको निर्यात चुलिएको छ।
विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको दोस्रो त्रैमासिक अवधिमा ४ अर्ब ८५ करोड ४० लाख मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको छ। उक्त तथ्याङ्क गत आर्थिक वर्षको सोही अवधिका तुलनामा करिब ३ गुणा बढी हो।
गत आर्थिक वर्षको पुस मसान्तमा चालु आवको सोही अवधिको ३ गुणा कमले भटमासको तेलको निर्यात गरिएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ। जसअनुसार १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात गरिएको थियो।
गत आर्थिक वर्ष २०७६/७७ अर्थात् पूरा १ वर्षमा गरिएको भटमासको तेलको निर्यात चालु आवको पुस मसान्तको भन्दा ५६ करोडले कम छ। उक्त आवमा ४ अर्ब २९ करोड ४९ लाख मूल्यको ३१ हजार ६ सय ३४ मेट्रिक टन भटमासको तेल निकासी गरिएको थियो।
त्यस्तै अघिल्लो आव २०७५–७६ मा अझ कम ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन भटमासको तेल भारततर्फ गएको तथ्याङ्क कार्यालयले दिएको छ। नेपालका उद्योगीले साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा भटमासको तेल भारततर्फ निर्यात गरिरहेका छन्।
भारतका अर्थमन्त्री निर्मला सीताशरणले भारतमा भटमासको कच्चा तेल पैठारीमा लाग्ने भन्सार महसुलमा १ प्रतिशतले थप गरेकी छन्। यसबाट नेपालबाट भारत निकासी हुने भटमासको तेल केही सस्तो पर्ने देखिएको छ। भारतमा भटमासको कच्चा तेलमा लाग्ने ३८ दशमलव ५ प्रतिशत भन्सार महसुलमा १ प्रतिशत थपेर ३९ दशमलव ५ प्रतिशत बनाइएको हो। यसबाट भारतीय उद्योगपतिलाई प्रति मेट्रिक टन भारु ८ सय ३२ को खर्च थपिएको छ।
भटमासको कच्चा तेल अर्जेन्टिना, युक्रेन र ब्राजिलबाट पैठारी गरिन्छ। विराटनगर नाकाबाट भटमासको तेल निकासी गर्ने उद्योगमा केएल दुगडको स्वस्तिक आयल, प्रकाश मुन्दडाको बाबा भेजिटेबल, घनश्याम काबराको क्वालिटी आयल, देवकीनन्दन अग्रवालको वाग्मती आयल, प्रदीप मुरारकाको श्रीराम रिफाइनरी, अविनाश बोहराको एभरेस्ट सोलभेन्ट र शारडा समूहको पशुपति सोल्भेन्ट गरी सात वटा हुन्।



लोकपाटी न्यूज

