यामाहाकाे मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, कति छ नयाँ मूल्य ?

लोकपाटी न्यूज

काठमाडौं। यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्प्राइजेजले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको छ। कोरोना महामारीका कारण उत्पादन तथा कच्चा पदार्थको निकै आकासिएको हुनाले नयाँ उत्पादित सवारीमा मूल्यवृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीले साउनयता न्यूनतम ५ हजारदेखि अधिकतम १३ हजारसम्म मूल्य बढाएको कम्पनीका बजार प्रबन्धक दिनेशरत्न बज्रचार्यले जानकारी दिए। उनका अनुसार विश्वव्यापीरुपमा अधिकांश सवारी साधनको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको प्रभाव परी मूल्यवृद्धि भएको बताए।

कम्पनीले विभिन्न मोडलका स्कुटरको अत्याधिक मूल्य बढाएको छ। कम्पनीले आरएवाई विथ यूविएस ११३ स्कुटरमा ५ हजार मूल्य बढाएर २ लाख ९०० रुपैयाँ तोकेको छ। त्यसैगरी, फ्यासिनो यूवीएस ११३ स्कुटरमा ६ हजार मूल्य बढाएर २ लाख १८ हजार रुपैयाँ, फ्यासिनो यूवीएस १२५ स्कुटरमा ९ हजार बढाएर २ लाख ५६ हजार ९०० रुपैयाँ, आरएवाईजेठआर १२५ एफआईमा २ लाख ५१ हजार ९००, आरएवाईजेठआर स्ट्रिट ¥याली १२५ एफआई स्कुटरको मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ र एन म्याक्स १५५ स्कुटरमा १० हजार रुपैयाँ बढाएर ४ लाख ६९ हजार ९०० सय रुपैयाँ मूल्य तोकेको छ।

कम्पनीले विभिन्न मोटरसाइकलको मोडलमा पनि अत्यधिक मूल्य बढाएको छ। जसमा सलुतो डिस्कब्स् यूवीएस १२५ मा ८ हजार बढाएर २ लाख १९ हजार ९०० रुपैयाँ, एसजेठ आरआर १५० मा ७ हजार बढाएर २ लाख ४२ हजार ९०० रुपैयाँ, एफजेठएस एफआई भी३ एबीएस १५० मा १० हजार बढेर ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको छ ।

साथै, एफजेठएस–२५ २५० मोटरसाइकलमा १३ हजार बढेर ४ लाख ४२ हजार ९०० रुपैयाँ, आर१५ भी३ एबीएस १५५ मा १३ हजार बढेर ४ लाख ७७ हजार ९०० रुपैयाँ र एमटी १५ १५५ मोटरसाइकलमा पनि १३ हजार मूल्य बढाएर ४ लाख ४२ हजार ९०० रुपैयाँ तोकेको छ।

त्यस्तै कम्पनीसँग उपलब्ध भएको आर३ को मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ, एफजेठएस भी२ को ३ लाख ४ हजार ९०० रुपैयाँ र एफ२भी२ मोटरसाइकलको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ नयाँ मूल्य तोकेको छ ।