काठमाडौं। माघ २३ गते ओली समूहले काठमाडौंमा जनसभाको आयोजना गर्दैछ। जनसभाको लागि ओली समूहले तयारी तीव्र पारेको छ। मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जनसभालाई लक्षित गरेर सामाजिक सञ्जालमा एक अडियो सन्देश सार्वजनिक गरे। श्रेष्ठले सार्वजनिक गरेको २५ सेकेन्डको अडियो नेकपा (एमाले) का तत्कालीन महासचिव स्व. मदन भण्डारीको भाषण हो।
उनले भण्डारीको अडियोलाई गलत अर्थ राख्ने गरी सार्वजनिक गरे टिप्पणी हुन थालेको छ। अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठुलो आपत्तिको कुरा हुने छैन, किन ठुलो आपत्तिको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ’ भनेको सुनिन्छ।
भण्डारीले गरेको भाषणको अडियोको गलत अर्थ लाग्ने अंश मात्रै मन्त्री श्रेष्ठले सार्वजनिक गरेका हुन्। उक्त अडियो काठमाडौँ, चाबहिलमा आयोजित सभामा स्व. भण्डारीले गरेको भाषणको भएको एक अनलाइनले लेखेको छ। भाषणमा भण्डारीले राजतन्त्र एक नम्बर शत्रु भएको बताएका थिए। तर ओली समूहले नारायणहिटी दरबार अगाडि माघ २३ गते आयोजना गरेको सभाको प्रचार सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीको तस्बिरसहित राखिएको अडियोमा भण्डारीको भाषणको सानो अंशलाई मात्र राखेर दुरुपयोग गरिएको छ।
राजतन्त्रको विरोध गरिएको भाषणको छोटो अंश मात्र राखेर उनलाई राजावादी देखाउने गरी दुरुपयोग गरिएको नेकपाका एक नेताले बताए। उक्त कार्य खेदजनक रहेको ती नेताको भनाइ छ। यसअघि ओली सरकारका खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले सुर्खेतमा आयोजित सभालाई सम्बोधन क्रममा श्री ५ को सरकारका तर्फबाट म यहाँहरूलाई अभिवादन व्यक्त गर्दछु भनेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। पछि उनले भुलवश श्री ५ को सरकार भन्न पुगेको भन्दै माफी मागेका थिए।
प्रतिनिधिसभा विघटनपछि फेरि ‘सांस्कृतिक राजा’को हल्ला चलाइएको छ। ओलीको उक्त कदमदेखि राजावादीहरू खुसी पनि देखिएका छन्। राजावादीले सडकमा पनि नारा राजा आउँ देश बचाउको नारा लगाए। लामो समयदेखि राजतन्त्रको पक्षमा वकालत गरिरहेका कमल थापाले ओलीको कदमलाई समर्थन गरिरहेका छन्। मुलुकलाई निकास दिन सही निर्णय भएको सन्देशसहित थापाले ओलीको कदम प्रचारको माध्यम बनाएका छन्। उनले ओलीको कदमलाई लिएर अहिले व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न गरिरहेका छन्।
केही समयअघि नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका थिए। उनले संसद् विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेका थिए। पुरीले आफ्नो लेखमा भनेका थिए, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लोसमय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएको हुनसक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’
पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न नसकिने बताउँदै पुरीले लेखेका थिए, ‘विगतमा प्रधानमन्त्री ओलीले आफू सांस्कृतिक राजतन्त्रका लागि खुला रहेको बताएका थिए।’ प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधि र अभिव्यक्तिले संशय उत्पन्न गराएको छ। जनताकाे बहुदलीय जनवाद प्रतिपादन गरेका मदन भण्डारीले हाम्रा भगवान् निर्जीव मूर्ति होइनन्, जीवित जनता नै हाम्रा भगवान् हुन् भन्थे। उनको विचार समाएर प्रधानमन्त्री हुनेमध्ये ओली एक नेता हुन्। तर पछिल्लोपटक उनी राजनीतिक अभिष्ट बोकेर पवित्र पशुपतिनाथ मन्दिरमा संकल्प पूजा गरे।
संविधानका आधारस्तम्भमध्ये एउटा ‘धर्मनिरपेक्षता’ हो। ‘धर्मनिरपेक्षता’लाई ओलीले कमजोर पार्न चाहेको उनका अभिव्यक्तिले दर्साउन थालेको छ। चितवनको भरतपुरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्यालाई राजनीतिक विषयका रूपमा प्रस्तुत गर्न खोजे। ‘यही जिल्लाबाट छानिएका, त्यही निर्वाचन क्षेत्रबाट छानिएका सांसद राम जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा चुइँक्क बोल्न किन सक्नुहुन्न, कसका डरले ?’ ओलीले प्रचण्डप्रति कटाक्ष गर्दै भनेका थिए, ‘राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँड्नुभएको छ। मयूरको प्वाँख लगाउँदैमा अर्को के चरो मयूर हुँदैन, त्यो चरो त्यही रहन्छ।’
प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम मन्दिर बनाउने योजनाको ‘मास्टरप्लान’ तयार भइरहेको बताउँदै रामको ‘भव्य प्रतिमूर्ति’ तयार भइसकेको जानकारी गराए। सीताको प्रतिमूर्ति बनिरहेको तथा अब लक्ष्मण र हनुमानको पनि बन्ने प्रधानमन्त्री ओलीले बताए। ‘अर्को सालको रामनवमीमा हामी राम जन्मभूमि अयोध्यामा भव्यसँग प्राणप्रतिष्ठा गर्दै छौँ, यसैपल्ट भ्याइँदैन,’ उनले थपे। ओलीले संविधान निर्माणका क्रममा बीबीसीलाई अन्तर्वार्ता दिँदै ‘धर्मनिरपेक्षता’ शब्द गलत अनुवादवश आएकोसमेत दाबी गरेका थिए।
ओली आफ्नो स्वार्थपूर्तिका लागि जुनसुकै हदमा जानसक्ने नेताको रूपमा विश्लेषकहरूले चित्रण गर्छन्। उनका गतिविधि र उनका समूहका नेताहरूको हर्कतका कारण ओलीमाथि संशय उत्पन्न हुनु स्वाभाविक भएको पनि नेकपाका एक नेता बताउँछन्। कम्युनिस्ट मूल्य, मान्यताअनुसार केपी ओली नचलेको उनको आरोप छ। त्यति मात्र होइन, ती नेताले पनि नेपालका लागि भारतका पूर्वराजदूत पुरीले आंशका व्यक्त गरे जस्तै, राजावादी समूहसँग ओलीको कुनै समझदारी हुनसक्ने शंका व्यक्त गरेका छन्। यद्यपि प्रचण्ड-नेपालले ओलीको प्रतिगमनकारी कदममा राणा र राजावादीको गन्ध आइरहेको टिप्पणी भने सार्वजनिक कार्यक्रममा गरिरहेका छन्।



लोकपाटी न्यूज

