काठमाडौं। खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने बताए।
नख्खु कारागारमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई मंगलबार कारागारमै गएर भेटेपछि मन्त्री थापाको यस्तो भनाइ आएको हो। उनले नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी गरे।
यसबारे आफूले प्रधानमन्त्रीलाई पनि जानकारी गराएको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मन्त्री थापाले भने, ‘तपाईंको र विप्लवको राष्ट्रवाद मिल्छ जस्तो लाग्छ। बैद्य र तपाईंको पूर्वीय सभ्यता, संस्कृति पनि मिल्छ।’वलीसँगको भेटमा राष्ट्रिय राजनीतिक कुरा पनि भएको र वर्तमान सरकारले यदि वार्ता गर्न चाह्यो भने आफूहरु वार्ताका लागि तयार रहेको वलीले बताएको थापाले जानकारी दिए।
तर वलीले आफू पार्टीको आधिकारिक लाइनबाट टाढा रहे पनि नेकपा विप्लव नेकपा वार्ता विरोधी नभएको प्रष्ट्याएका थिए। विप्लव नेकपाले अंगिकार गरेको अहिलेको आन्दोलन र जंगलको राजनीति अहिलेको आवश्यक नभएको मन्त्री थापाले बताए। उनीहरुका पनि केही सर्तहरु रहेको भन्दै थापाले वार्ताअघि युद्धविराम हुने बताए।
विद्रोहीलाई सहि बाटोमा ल्याउनका लागि ट्रयाक वान, टु, थ्रिका पोलिसि हुने भन्दै सरकार त्यही बाटोमा रहेको दाबी गरे।



लोकपाटी न्यूज

