काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सब–स्टेशनको समुद्घाटन गरेका छन्। धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको निर्माण गरिएको छ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सब–स्टेसनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गरेका हुन्। सव–स्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ। हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ढल्केवर सव–स्टेशन भएको बताइएको छ।
यो सव–स्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए। उनका अनुसार पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ। ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको उनको भनाइ छ।
औपचारिक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले निर्वाचनमा साथ दिन मधेसी जनतासमक्ष आग्रह गरेका छन्। “म मधेसको विकासमा साथ दिन्छु। मलाई निर्वाचनमा साथ दिनुहोस्,” सिरहामा आयोजित सहिद हेमनारायण यादव स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओली भने।

उनले थप भने, ‘‘मेरो विषयमा अनेक हल्ला फैलाएर मधेसमा प्रतिकूल अवस्था सिर्जना गर्ने कृत्रिम प्रयास भए। तर अब मधेसका जनताले कुरा बुझ्नुभएको छ। त्यही भएर विकास र समृद्धिको लागि जागरण आएको छ। यो जागरणलाई निरन्तर अगाडि बढाउनुपर्छ। म तपाईंहरूको साथमा छु।’’
मन्तव्य राख्दा राजनीतिक परिवर्तनमा मधेसी जनताको योगदान, मधेसको विकास र समृद्धिमा मात्रै कन्द्रित भएका प्रधानमन्त्री ओलीले २००७ सालदेखिको ठूला आन्दोलनमा निरन्तर सरिक भएको मधेसका जनता समृद्धिको अभियानमा लगेकोप्रति सलाम गर्न चाहेको बताए।
“मधेसमा शान्ति र विकाससँगै समाजिक जागरण ल्याउने योजना छ। जात धर्म, भूगोलको आधार गरिने विभेद् अन्त्य गर्ने अभियानमा छु। मधेस, पहाड र हिमाल सबै हामी नेपाली हौं। एउटै हावा, एउटै पानी खाइरहेका छौं। बोक्सी भन्ने भ्रम छोड्नुपर्छ। अब समानता र आत्मसम्मानको लागि काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने।
‘‘राजमार्गमा सदरमुकाम जाने बाटो चार लेनको बनिरहेको छ। सहरी बाटो र भवनहरू बनाइरहेका छौ। खेल मैदान, भवन, कृषि बजार निर्माण गरिरहेका छौं,’’ प्रधानमन्त्री ओलीले भने, “तराईको सहरमा फोहोर नहोस् भनेर ढल व्यवस्था गरेका छौं। विकास, सिँचाइ खानेपानी, विद्यालय र अस्पताल निर्माणका काम भएका छन्। नभएको ठाउँमा बनाइनेछ।’’
साेमबार नै प्रधानमन्त्री ओलीले सिरहाकाे आमसभालाई सम्वाेधन गरेका छन्। कार्यक्रममा ओली समूहले मधेशका अधिकांश जिल्लाहरुबाट आफ्ना कार्यकर्ता र सर्वसाधारणलाई सहभागी गराएको थियो। ओली समूहले कार्यक्रममा आउने सर्वसाधारणका लागि चियानास्ता र दैनिक भत्ताको पनि व्यवस्था गरेको एक नेताले बताए। ओली समूहले यसअघि सर्लाहीमा गरेको कार्यक्रममा पनि भत्ता दिएर सर्वसाधारण ल्याएको थियो।

ओलीको सभामा सीमा पारिबाटसमेत मानिसहरु आएको एक नेताले बताए। ‘‘सीमा नजिक भएपछि केही मान्छे त आइहाल्छन् नि’ ओली समूहका स्थानीय एक नेताले भने, ‘‘तर, योजनामा मान्छे ल्याइएको भने होइन। आउने मान्छेलाई नआउनुस् भन्न त मिलेन नि !’’
निधि सभा बिघटनपछि देशैभरि अलगावमा परेका ओलीले काम सम्पन्न भइसकेका आयोजनाहरुको समेत फेरि शिलान्यास गर्दै हिँडेका छन्। ओलीले चुनावी प्रचारमा सत्ता र शक्तिको चरम दुरुपयोग गरेको एक पूर्वसांसदले बताए। उनले भने, ‘‘राजाको शासनकालमा पनि यति धेरै सत्ता र शक्तिको दुरुपयोग भएको थिएन। मान्छेलाई प्रलोभनमा पारेर ल्याउन त सकिन्छ। तर, त्यसरी सत्ता टिक्दैन भन्ने ओलीले बुझ्नुपर्ने हो।’’
उनका अनुसार शहरी विकासमन्त्री प्रभु साह, पूर्वमन्त्री रघुवीर महासेठ लगायतका नेताहरुले सीमापारिबाट मान्छे ल्याउन विशेष भूमिका खेलेका थिए। ‘‘उहाँहरुको पारिपट्टी कस्तो सम्बन्ध छ भन्ने कुरा तपाईहरुले बुझ्नुभएकै होला’’ ती नेताले भने, ‘‘सत्ता टिकाउन जस्तोसुकै कूकर्म गर्न पछाडि नपर्ने सरकारका लागि यस्ता कुरा त सामान्य हुन्।’’



लोकपाटी न्यूज

