काठमाडौं। ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन। केपीले चाहेको र सोचेको कुरा अर्कै छ’ राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेट गरेपछि निकटस्थहरुलाई सुनाएको प्रसंग हो यो।
२०७२ मा गठित आफ्नो सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाएका कमल थापासँग ओलीको अहिले पनि सम्बन्ध सुमधुर छ। उक्त भेटमा ओलीले थापालाई संसद पुनस्र्थापना कुनै हालतमा नहुने बताए। उनले पनि पत्याएका रहेछन्। ‘एक पर्सेन्ट पनि चान्स छैन ९पुनस्र्थापनाको०, चुनाव नै हुन्छ, सबैतिर सेटिङ भैसकेको छ,’ उनले निकटस्थलाई सुनाए।
कमल थापाले प्रचण्डहरुको कुरा पनि सुनेका रहेछन्। उनीहरु पनि चोलेन्द्रको भर छैन। आन्दोलन गरेरै जानुपर्छ भन्नेमा छन्। कमल थापाको कुरा सुनेपछि राप्रपाका एक नेताले जनआस्थालाई सुनाए, ‘लागे–पुगेसम्म अहिले पनि कमल थापा ओलीसँग मिल्न पाए हुन्थ्यो भन्नेमा छन्। तर, पार्टीको लाइन कांग्रेस जसरी जान्छ, त्यसरी जाऔँ भन्ने छ।’
कमल थापाको ब्रिफिङअनुसार, केपीले चुनाव गराए भने कांग्रेस र भारतले सोचेजस्तो हुने सम्भावना नै छैन। ती दुईको अनुमान छ, नेकपा फुट्यो, अब पालो कांग्रेसकै हो। यसबाट मधेसी नेताहरु अलिक बढी फाइदामा हुँदा भारतले आफ्ना एजेण्डा अगाडि बढाउने माध्यम र सहजता पाउने अनुमान गरेको छ। तर, कमल थापाका अनुसार, केपीले रोजेका, छानेका मान्छेले मात्रै चुनाव जित्ने र आफूसँग पाँचजना भए पनि अरुभन्दा बढी सांसद हुने गरी चुनाव गराउँदै छन्।
रामबहादुर थापा (बादल) नाममात्रको गृहमन्त्री हुन्।
सिडिओ, एसपी सबै बालुवाटारले खटाउने हो। गृहमन्त्रीले डिएसपीधरी सरुवा गर्न नसक्ने अवस्था छ। मन्त्रालय, त्यसअन्तर्गतका नियुक्तिमा कुनै मन्त्रीको केही चल्दैन।
सबैमा बालुवाटार हावी छ। रक्षा मन्त्रालय आफैँसँग राखेका छन्। अर्थात्, जो केपीसँग मिल्छ, उसले मात्रै जित्ने चुनाव हुँदैछ। त्यस्तो चुनावमा कांग्रेसका रामचन्द्र पौडेल, जसपा नेता डा.बाबुराम भट्टराईसहित सबैलाई जिताइदिने, तर बहुमत आफूले ल्याउने चाहना छ। हुन पनि केपीसँग अहिले सेना, प्रहरी, निर्वाचन आयोगदेखि सबै शक्ति केन्द्रित छ । आश्वासन बाँड्ने ठाउँमा उनै छन्।
२ भोटले जिते पनि माननीय, हजार भोटले जिते पनि माननीय। यदि केही गरी चुनाव भएन भने अदालतका कारणले मात्रै हुँदैन । उसले संसद पुनस्र्थापना ग¥यो भने मात्र चुनाव नहुने हो। तर, संसद व्युँतिने एक प्रतिशत पनि सम्भावना नभएको कुरामा ओली हिमालझैँ अटल छन्। ०३८ सालमा दरबारको चाहनाबमोजिम भएको चुनावलाई सूर्यबहादुर थापाले धाँधली भयो भनेका थिए।
तर, त्यो चुनावमा मात्रिकाप्रसाद कोइराला र केआई सिंहलाई समेत जिताइएको थियो । अर्थात्, उदार र अनुदार दुबै पञ्चलाई राष्ट्रिय पञ्चायतमा लगियो, तर अनुदार पञ्चहरुको संख्या बढी बनाइयो। अहिले केपी ओलीको चुनावी अभ्यास यस्तै रहेको ब्रिफिङ छ, कमल थापाको। उनको अन्तिम विश्वास चाहिँ के छ भने– अहिले त के देखिन्छ र ओलीको रुप १ चुनावपछि को, कति तानाशाह बन्न सक्छ प्रष्ट हुनेछ। जनआस्था साप्ताहिकबाट



लोकपाटी न्यूज

