काठमाडौं, २८ पुस । साझापार्टीका संयोजक उज्वल थापाको नेतृत्वमा एक समूह शुक्रबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा गएपछि विवेकशील साझा पार्टी एकता भएको डेढ वर्षमै विभाजित भएको हो ।
२०७४ साउन ११ गते रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीकाबीच एकता भई बनेको विवेकशील पार्टीबाट पूर्व विवेकशील नेपाली समूह अलगिएको हो ।
रमेश पौड्याल, विराट भट्ट श्रेष्ठ, रन्जु दर्शना, डा अनुषा थापा, सुबुना बस्नेत, गोविन्द नारायण, पुकार बम, अर्जुनसिंह ठकुरी, साधना राई, शक्ति विक्रम कार्की, अजिता राई, जीवन श्रेष्ठ, आशुतोष तिवारी, ज्ञानेन्द्र निरौला र मिलन पाण्डे लगायतका विवेकशील साझाका केन्द्रीय सदस्यहरु शुक्रबार नयाँ पार्टी गठनका लागि निर्वाचन आयोग पुगेका थिए ।
केही दिन अघि थापाले ‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा पार्टी सदस्यलाई पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा आफ्ना विमतिहरु राखेका थिए ।
उक्त प्रतिवेदनमा थापाले उल्लेख गरेका पार्टीका समस्याहरुलाई पार्टी फुट्नुको मुख्य कारण मानिएको छ । के के थिए ती कारणहरु:
१. चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको ।
२. परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको ।
३. दलले गति लिन नसेकेको र ढंग पनि पर्याप्त नदेखिएको ।
४. पार्टीले होश र जोसलाई अँगाल्न सकेन ।
५. डरको राजनीति हावी भएको ।
६. ‘सिरियल सर्किट’ मा चल्न रुचाउने प्रवृति हावी भएको ।
७. कमजोरीमा केन्द्रित वातावरण बनेको ।



लाेकपाटी न्यूज

