हान–मजदुरबिच सम्झौता : कस्तो होटलका कर्मचारीले कति पारिश्रमिक पाउँछन् ?

Hotel-Bar-Resturant-Star hotel
लोकपाटी न्यूज

काठमाडौं। होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील केन्द्रीय ट्रेड युनियन संघ÷संगठनहरुबीच एक सहमति भएको छ। महामारीले मुलुकको अर्थतन्त्र तहसनहस भएको पर्यटन क्षेत्र ध्वस्त भएको अवस्थामा कर्मचारी र होटल सञ्चालकहरुले समान्य जिवनयापनका लागि सहजीकरण गर्ने विषयमा सम्झौता भएको जनाएको छ।

हिजो १३ गते मंगलबार होटल संघ नेपालको तर्फबाट अध्यक्ष सिर्जना राणा, होटल संघ नेपालका पदाधिकारी र तपसिलमा उल्लिखित पर्यटन तथा होटल क्षेत्रमा क्रियाशिल मुख्य तीनवटा केन्द्रीय ट्रेड युनियनका अध्यक्षहरु र पदाधिकारीहरुबीच एक सहमति भएको होटल एसोसिएसन हानले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को विश्वव्यापी महामारीका कारणबाट सरकारद्वारा गरिएको बाध्यात्मक बन्दाबन्दीबाट होटल व्यवसाय व्यापारका लागि पूर्ण रूपमा ठप्प भई काबु बाहिरको विषम परिस्थितिको निरन्तरता भएकोले होटल व्यवसाय धरासायी हुन गएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत श्रमिक तथा कर्मचारीहरूको पारिश्रमिक भुक्तानी सम्बन्धी बिषयको समस्या समाधान र व्यवस्थापन गर्न मितिः २०७७ असार २८ गते गरिएको सामूहिक सम्झौता मितिः २०७७ पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड १९ का कारणले कुनै सुधार नआएको हुनाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण होस् भन्ने हेतुले निम्नबमोजिम गर्ने गरी यो नयाँ सामूहिक सहमति गरिएको छ।’

यस्तो छ सम्झौतापत्र

१. यस सहमति बमोजिम देहायको सुविधा होटल प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई उपलब्ध गराइनेछ।

क) पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. ५०००।– (पाँच हजार) रकम उपलब्ध गराइनेछ।

ख) चारतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. ४०००।– (चार हजार) रकम उपलब्ध गराइनेछ।

ग) तीनतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. ३०००।– (तीन हजार) रकम उपलब्ध गराइनेछ।

घ) दुईतारे होटलर रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. २५००।– (दुई हजार पाँच सय) रकम उपलब्ध गराइनेछ।

ङ) एकतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. २०००।– (दुई हजार) रकम उपलब्ध गराइनेछ।

च) पर्यटकस्तरीय होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई आपसी समझदारीमा गरिनेछ।

२) यो सहमति अवधिभरि चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीहरुलाई उपलब्ध गराइने छैन।

३) होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत् आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरुलाई काममा लगाइनेछ। काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरुलाई निजहरुले खाइपाई आएको पारिश्रमिक उपलब्ध गराइनेछ। काममा नबोलाइएमा यस सहमतिमा तोकिएको रकम उपलब्ध गराउनुपर्नेछ। यस सहमतिको समयवधिभरि तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई काममा लगाइने छैन। तर बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरुलाई व्यवस्थापनले काममा लगाउन सक्नेछ।

(स्पष्टिकरण : कुनै श्रमिक तथा कर्मचारीहरुलाई एक महिनामा न्यूनतम १५ दिनभन्दा कम, जति दिन कार्य गर्ने हो त्यति दिनको खाइपाई आएको पारिश्रमिक दिइनेछ र बाँकी दिन यो सहमतिमा तोकिएको (बुँदा नं. १) रकमको अनुपातमा हुन आउने थप रकम दिइनेछ भने नियमित १५ दिनभन्दामाथि कार्य गर्न लगाइएमा खाइपाई आएको कार्यदिनको पारिश्रमिक उपलब्ध गराइनेछ। तर बाँकी (सो महिनाको) दिनको सहमतिअनुसार (बुँदा नं. १) को थप रकम दिइने छैन।)

४) यस सहमति अवधिभरि काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीहरुले दावी गर्न पाउने छैन।

५) यो सहमतिको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील केन्द्रीय स्तरका सम्झौताकर्ता ट्रेड युनियन संघहरूबिच गठन भएको अधिकारसम्पन्न संयुक्त कार्यदलले गर्नेछ।

६) यो सहमतिको अवधिभरि श्रमिक वा कर्मचारीहरुको रोजगारीको सुनिश्चितता गरिनेछ। तर स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ र सेवाको अवधि रोजगारीको अन्त्य भएको दिनसम्म गणना गरिनेछ।

७) यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सहमति अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सूचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सहमतिअनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी गरिनेछ।

८) यो सहमतिमा उल्लिखित शर्तहरु दुवै पक्षका लागि बाध्यकारी हुनेछ। यो सम्झौतामा उल्लेख गरिएबाहेक अन्य विषयहरुमा प्रतिष्ठानस्तरका क्रियाशील यूनियनहरुसँग बसी छलफल गर्न सकिनेछ। साथै यो सम्झौता हुनुभन्दा अगावै प्रतिष्ठान स्तरको युनियनहरुसँग गरिएको सम्झौता कायम रहनेछ र यो सम्झौतापछि होटल प्रतिस्ठानले स्थानीय क्रियाशील युनियनहरुसँग गरेको आपसी समझदारीमा कुनै वाधा हुने छैन।

९) सम्पूर्ण होटल प्रतिष्ठानहरु र त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनुपर्नेछ साथै यस सहमतिलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराइनेछ।

१०) यो सहमति सन् २०२१ डिसेम्बर ३१ सम्म कायम रहनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्