काठमाडौं। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै पुस ५ गते नेकपा राजनीतिक दृष्टिले बिभाजित भएपछि नेकपाको दुवै समूह एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएको छ। नेताहरुले सार्वजनिक कार्यक्रममै एकअर्कामाथि संगीत आरोप लगाउँदै आफ्नो समूह नै सही भएको दाबी गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उनीपक्षीय नेताहरुले लगाएका आरोप हेर्दा नेकपा फेरि कहिल्यै जुट्दैन भन्ने संकेत गर्दछ।
अहिले ओली सरकारका मन्त्रीमध्ये सबैभन्दा बढी आक्रमण र विवादित देखिएका छन् नेकपाका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझी। प्रतिनिधिसभा विघठनपछि टोपबहादुर रायमाझी अहिले राष्ट्रिय चर्चामा छन्। माओवादी जनयुद्धको एक संस्थापक रायमाझीले प्रचण्डको साथ छाडेर केपी ओलीतिर लागेदेखि नै उनको चर्चा चुलियो।
यसबीचमा कहिले एमसीसीबारे बोलेर त कहिले प्रचण्डबारे बोलेर चर्चामा आइरहेका रायमाझीलाई लक्षित गर्दै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीतिर लागेका पूर्वमाओवादीहरुलाई नयाँ जोगी भनेका छन्। रायमाझीका अभिव्यक्ति हेर्दा उनी साँच्ची नै नयाँ जोगीका रुपमा प्रस्तुत भएका छन्।
रायमाझीले भने प्रचण्डलाई कहिल्यै कार्यकर्ताबाट निर्वाचित हुन नचाहने, ३३ वर्षदेखि टीके अध्यक्ष (पार्टी) प्रमुख भएको र अहिले केपी ओलीलाई ‘कू’ गरेर देशमा अस्थिरता सिर्जना गर्न खोजेकोजस्ता आरोप लगाउँदै आफूले प्रचण्ड छोडेको दाबी गरिरहेका छन्। तर, प्रचण्डलाई टीके भनिरहँदा प्रचण्ड जुन प्रक्रियाबाट अध्यक्षमा चयन हुँदै आएका थिए, रायमाझी पनि त्यही प्रक्रियाबाट पार्टी केन्द्रीय समिति, पोलिट्ब्यूरो र स्थायी समितिमा चयन हुँदै आएको तथ्य भने बिर्सिएका छन्।
टोपबहादुर रायमाझीको लिगेसी मोहनविक्रम सिंह, चित्रबहादुर केसी र बाबुराम भट्टराई हुँदै बाबुरामले माओवादी छाडेपछि प्रचण्डसँग जोडिएको थियो। संयोग नै मान्नुपर्छ टोपबहादुर, प्रभु साह लगायतका बाबुरामसँग लिगेसी जोडिएका नेता नेकपा विभाजनसँगै ओलीसँग जोडिएका छन्। रायमाझी नै यस्ता नेता हुन्, जसले राजनीतिक दृष्टिकोण र विचारभन्दा पनि राजनीतिक नाफा–नोक्सानका आधारमा आफूलाई उभ्याउँदै आएका छन्।
रायमाझी तत्कालिन नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियु छैटौं र युवक संगठनको अध्यक्ष हुँदै २०४८ मा मसाल छाडेर प्रचण्ड बाबुरामको पार्टी नेकपा एकता केन्द्र हुँदै माओवादी जनयुद्धको शुरु हुने बेलाको ३१ सदस्यीय नेतृत्वमध्येका एक नेता थिए। जनयुद्धकालमा उनले प्रायः मध्यक्षेत्रको कमाण्ड गरेका थिए।
रायमाझीको जीवनको अर्को रोचक पाटो युद्ध शुरु नहुँदै प्रचण्डले उनलाई युद्धकला सिक्न भारतको आसामका उल्फा विद्रोहीसँग पठाएका थिए। मार्सल आर्टका खेलाडी भएकाले पनि उनी प्रचण्डको रोजाइमा परेका हुन सक्छन्। तर, रायमाझीबाट प्रचण्डले वैचारिक नेताको जुन अपेक्षा गरेका थिए, त्यसमा रायमाझीको कुनै प्रगति हुन सकेन। नेकपामा रायमाझी सबैभन्दा कमजोर वैचारिक धरातल भएका नेता मानिन्छन्।
जनयुद्ध शुरु भएको केही समयपछि नै टोपबहादुर प्रवास इञ्चार्ज बनेर दिल्ली गएका थिए। माओवादीका तत्कालिन महामन्त्री प्रचण्डसहित पार्टी हेडक्वार्टरको व्यवस्थापन र सुरक्षाको जिम्मा उनको थियो। उनको ससुराली पनि दिल्लीमा भएकाले यो जिम्मा दिइएको थियो।
जनयुद्ध उत्कर्षमा पुगेकै बेला माओवादीमा झण्डै विभाजन आयो। प्रचण्डले बाबुराम भट्टराईसहित मसालबाट विद्रोह गरेर आएका अधिकांश नेताहरुलाई कारवाही गरे। टोपबहादुर रायमाझीले कारवाहीको विरोध गरे। तत्कालीन समयमा डा. भट्टराईमाथि गरिएको कार्वाही फरक मत राखेका कारण नभएर फरक मतलाई मिडियाबाजी गरिएकाले भएको थियो। त्यसमा रायमाझीले मध्यमार्गी नेताका रुपमा सहजीकरण गरेको भन्नेहरु पनि छन्।
माओवादी जनयुद्धको अन्तिम चरणमा टोपवहादुर रायमाझी दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने अभियानको नेतृत्वमा थिए। त्यसबेला माओवादीको परिभाषामा गण्डक ढाड थियो, जसको इञ्चार्ज रायमाझी थिए। आँटिला रायमाझी राजनीतिक दृष्टिले भने भुत्ते थिए। तसर्थ, कुनै वैचारिक बहसको विषय आयो कि उनी अनेक बहाना बनाएर भागिहाल्थे।
प्रचण्डसँगको करीव ३० वर्षको सहयात्रा छाडेर ओलीतिर लागेका रायमाझी यसबीचमा देशव्यापी अभियानमा छन्। बुटवलको भाषणपछि लुम्विनीमा अझ चर्चामा रहेका रायमाझीले शनिबार गृहजिल्ला अर्घाखाँचीमा शक्ति प्रदर्शन गरे। तर, शक्ति प्रदर्शन रायमाझीले सोचेजस्तो भएन। २०६४ देखि लगातार रायमाझीलाई मतदान गर्दै आएका पूराना मतदाता पछिल्लोसमय रायमाझीसँग नराम्रोसँग चिढिएका छन्।
माओवादी जनयुद्धको बेला बाबुराम भट्टराईको निकट भएर काम गरेका रायमाझी भट्टराइले पार्टी छाडेपछि प्रचण्डसँगै रहे। तर पछिल्लो समय पार्टी एकताका लागि दोस्रो तहका नेताहरुबाट सक्रिय भएका रायमाझी अहिले नेकपा विभाजनपछि ओलीको विश्वासपात्र बन्न खोजिरहेका छन्। पूर्वमाओवादी समूहलाई ओलीले हत्तपत्त विश्वास नगर्ने कारण रायमाझी सम्पूर्ण रुपले ओलीको देवत्वकरण र प्रचण्डको राक्षसीकरणमा उत्रिएका छन्।
पार्टी बिभाजनको अन्तिमसम्म बालुवाटार र खुमलटार दुवैतिर बार्गेनिङमा रहेका रायमाझी अन्ततः मन्त्री पाउने भएपछि ओली कित्तामा उभिएका थिए। स्रोतका अनुसार सुरुमा ओलीले बादल प्रचण्डतिर जाने भएकाले गृह मन्त्रालय खाली हुने र उक्त स्थानमा रायमाझीलाई नियुक्त गर्ने आश्वासन दिएका थिए। त्यसको सूचना रायमाझीले आफूनिकट कार्यकर्तालाई दिइसकेका थिए। तर, बादल पनि गृहमन्त्री बचाउन ओली समूहतिरै लागेपछि रायमाझी जिल्लिएका थिए।
अर्घाखाँची जिल्ला मोटो मशालदेखि नै वामपन्थीको गढ मानिन्छ। पूर्वएमालेको कमजोर उपस्थिति रहेको अर्घाखाँचीका नेता रायमाझी ओलीतिर लागेपछि उनको निर्वाचन क्षेत्र असुरक्षित देखिएको छ। गृहमन्त्री बन्ने क्षणिक लाभले ओलीतिर लागेका रायमाझी जिल्लिएपछि उनी संकटमा परेका छन्। त्यसैले ओलीलाई खुसी बनाएर भोलिको भविष्य सुरक्षित राख्न सकिएला कि भन्ने ध्येयले उनले प्रचण्डको चर्को आलोचना गरिरहेका छन्। उनकाे आक्राेश राजनीतिक भविष्य समाप्त हुने चिन्ताकाे परिणाम भएकाे धेरैकाे विश्लेषण छ।



लोकपाटी न्यूज

