काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो निर्वाचनमा जमानत जफत हुने बताएका छन्।
शुक्रबार काठमाडौंमा सहिदहरूलाई श्रद्धाञ्जली एवं प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै केन्द्रीय सदस्य पौडेलले कांग्रेसलाई निर्वाचन जिताउन १७ र २७ गते ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने दावी गरे। उनले निर्वाचन आयोगमा केपी ओलीले आफ्ना भक्त लगेर राखेको आरोप लगाए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रको जिम्मा दिनु घातक भएको बताए। पौडेलले गणतन्त्रको जिम्मा दिनु भनेको बाँदरलाई मकैबारीको जिम्मा दिनुजस्तै भएको बताए।
कांग्रेस नेता पौडेलले नेकपालाई जनताले दुईतिहाइ मत दिए पनि नपचेको बताए। देशमा समृद्धि नआउनुको मुख्य कारक ओली भएको उनले टिप्पणी गरे। पौडेलले भने, ‘केपी ओलीले रेल ल्याउने कुरा कसले छेक्यो, पानीजहाजमा झण्डा फहराउन कसले छेक्यो, घर–घरमा ग्यास पुर्याउन कसले रोक्यो ?’ ओली निरङ्कुस शासक बन्न खोजे पनि आफूहरूले उनको चेष्टा सफल हुन नदिने दावी गरे।
उनले ओली अहंकारी शासक बनेको बताए। अदालतले प्रतिनिधिसभा बिघटन गर्ने ओलीको अलोकतान्त्रिक, असंवैधानिक र स्वेच्छाचारी कदमलाई सच्याउने उनले विश्वास व्यक्त गरे।


लोकपाटी न्यूज

