काठमाडौंमा ५०० ट्रान्सफर्मर फेर्दैछौं : कुलमान घिसिङ

Kulman Ghising
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । दुई वर्षदेखि लोडसेडिङमुक्त राजधानीमा फेरी लोडसेडिङ सुरु भएको छ । राजधानीवासीलाई बेलाबेलामा बत्ती झ्याप्पै आउने जाने समस्या आइलागेको छ ।

यो समस्या हुन थालेको साता दिन बढी भइसक्यो । साँझपख पिक आवरमा समस्या बढी दोहोरिन्छ जबकी राजधानीबाहिर समस्या देखिएको छैन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले राजधानीको माग र आपूर्ति व्यवस्थाबीच तालमेल नमिल्दा समस्या भएको बताए ।

‘बिजुलीको माग ह्वात्तै बढेको छ। पोहोर यतिबेला पिक आवरमा काठमाडौंको माग ३२० थियो, अहिले ४०० मेगावाट पुगेको छ,’ घिसिङले भने, ‘जाडो बढेको छ, धेरैले हिटर बाल्छन्, एसी चलाउँछन्। हाम्रो वितरण प्रणाली उही छ । माग धान्न नसकेर ट्रान्सफर्मर पडकिन्छन्।, बिजुली झ्याप्पै जान्छ।’

लोड बढ्दा धेरै तात्ने भएकाले कहिलेकाहिँ फिडर लाइनमै समस्या आउने गरेको उनले बताए । उनका अनुसार पाटनबाट बानेश्वर जाने ६६ केभीको प्रसारण लाइनमा ओभरलोडको समस्या छ । त्यसैले यो प्रसारण लाइनबाट बिजुली गएका क्षेत्रमा बढी समस्या आइरहेको छ ।

बत्ती जानुको अर्को कारण बाहिरबाट आउने ट्रान्समिसन लाइनको समस्या पनि हो उनले भने, ‘कहिले मस्र्यांदीबाट आएको प्रसारण लाइनमा समस्या हुन्छ, कहिले ढल्केबरबाट आउने लाइनमा रूख काटिदिन्छन्,’ घिसिङले भने, ‘ट्रंक लाइनमै समस्या आएपछि काठमाडौंमा असर परिहाल्छ ।

प्राधिकरणले बिजुली जाने समस्या हल गर्न तत्कालै राजधानीका ५०० वटा टान्सफर्मर परिवर्तन गर्न लागेको छ । निर्देशक घिसिङले तत्कालका लागि केही फिडर लाइन पनि परिवर्तन गर्न लागिएको तर दीर्घकालका लागि राजधानीमा दुई हजार मेगावाटको वितरण प्रणाली बनाउनु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्