केपी ओली पशुपतिनाथ हाे, हामी उहाँको पूजा गर्छौं : महेश बस्नेत

Mahesh_Basnet
लोकपाटी न्यूज

रामेछाप। नेकपाका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड, माधव नेपाल र झलनाथ पशुपतिनाथ बाहिरका भोलेनाथ भएको बताएका छन्। रामेछापको सदरमुकाम मन्थलीमा युवा संघ नेपाल र अनेरास्ववियूले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलालाई सम्वोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

‘पशुपतिनाथको बाहिर कोही हनुमान बनेर पुच्छर हालेर हिँडेका हुन्छन्, कोही शिवको मुखण्डो लगाएर पैसा मागेर हिँडेका हुन्छन्, मानिसलाई झुक्याइरहेका हुन्छन्, तिनीहरुलाई हामी भोलेनाथ भन्छौँ’, बस्नेतले भने।

केपी ओली पशुपतिनाथ गएकोमा समेत केही मुद्दा नपाएकाले विरोध गरेको बस्नेतले बताए। बस्नेतले भने, ‘केपी ओली पशुपतिनाथ गएको मात्र होइन, उहाँ नेपालको राजनीतिको पशुपतिनाथ नै हो, केपी ओली नै पशुपतिनाथ हो, हामी उहाँको श्रद्धा गर्छौं।ʼ

केपी ओलीले नेपाली जनताको आस्था रहेका सबै भगवानलाई सम्मान जनाउन पशुपतिनाथ गएका बस्नेतले बताए। केपी ओलीले नेपाली जनतालाई आफ्नो आस्थाका भगवान ठानेको बस्नेतले बताए। नेपाली जनताको सामाजिक सद्भाव केपी ओलीले हिजोदेखि जोगाउँदै आएको उनको भनाइ छ।

राष्ट्रिय स्वाधिनताको पक्षमा उभिए वापत केपी ओलीले राजीनामा दिनु पर्ने ? भन्दै बस्नेतले प्रश्न गरे। उनले केपी ओली सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता बचाउने नेता भएको पनि बताए। राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधान बचाए वापत केपी ओलीले राजीनामा दिनु पर्ने ? भन्दै उनले प्रश्न गरे।

केपी ओलीको ब्राण्डले नै नेपालको कम्युनिष्ट आन्दोलन बचेको बस्नेतले दावी गरे। केपी ओलीले माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई प्रधानमन्त्री बनाएर ससम्मान बिदा हुन खोज्दा ओलीलाई जवरजस्ती निकाल्न खोजिएको बस्नेतले आरोप लगाए।