माधवजी अध्यक्ष नै हाे, रित पुर्‍याएपछि आयाेगले मान्यता दिन्छ : झलनाथ खनाल

jhalanath khanal
लोकपाटी न्यूज

मोरङ। नेकपा दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले दुवै समूहबीच एकताको सम्भावना नरहेको बताएका छन्। उनले ओली प्रवृत्तिसँग एकता गर्दा कम्युनिस्ट आन्दोलन नै समाप्त हुनसक्ने खतरासमेत औल्याए।

विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा खनालले वामदेव गौतमको अभियानले आफूहरुलाई कुनै प्रभाव नपर्ने बताएका हुन्। नेकपालाई वैचारिक, राजनीति, सैद्धान्तिक, संगठनात्मक रुपले सुदृढ गर्दै समाजवादको बाटोमा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो। नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेको भोलिपल्ट खनालले यस्तो बताएका हुन्।

‘नेपाली जनताको संघर्षले प्राप्त उपलब्धिको दस्तावेज संविधानलाई भष्मासुर भएर प्रधानमन्त्री केपी शर्मा ओलीले विध्वंस गर्न खोजेको छ,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री ओलीको विध्वंस रोक्न र संविधान जोगाउन जनतालाई पुनः एकपटक सडकमा उत्रेर ओलीलाई समाप्त गर्नुपर्छ।’ त्यसैले भष्मासुरसँग एकता गर्नुको औचित्य समाप्त भएको खनालले बताए।

सर्वोच्च अदालतले तजबिजको आधारमा नभई संविधानअनुसार फैसला गर्नुपर्ने उनको भनाइ थियो। ‘प्रतिनिधिसभाको पुनःस्थापना अनिवार्य छ किनकी संविधानमा त्यसको विकल्प छैन,’ खनालले भने, ‘अदालतको फैसला मान्छौं संसद पुनःस्थापनाको।’

निर्वाचनमा जानु भनेको प्रधानमन्त्री ओलीको तानाशाही कदमलाई सहयोग पुग्ने हुँदा जनताले यस्तो मुर्खता नगर्ने खनालको भनाइ थियो। निर्वाचन आयोगले अहिले जे गरेको छ, त्यही अन्तिम नभएको उनको भनाइ थियो।

‘नेकपाको दुई तिहाईभन्दा बढी बहुमत हामीसँग भएकाले त्यसको नजर अन्दाज कसैले गर्न मिल्दैन,’ उनले भने, ‘निर्वाचन आयोगले अहिले माधवकुमार नेपाललाई अध्यक्ष मानेको छैन। तर जब बहुमतको निर्णय गरेर जान्छौं त्यतिबेला मान्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्