काठमाडौं। केही महिना यता दिनप्रतिदिन बढ्दै गएको निर्माण सामग्रीको मूल्य एक सातादेखि भने घट्दै गएको छ । विशेष गरेर फलामजन्य डण्डी तथा स्टीलको मूल्य एक साता यता घट्दै गएको हो दिनप्रतिदिन निर्माण सामग्रीको मूल्य बढ्दै गएपछि व्यवसायीहरुले त्यसको चर्को विरोध गर्दै आएका थिए।
व्यवसायीहरुले सरकारलाई निर्माण सामग्रीको मूल्य घटाउन अनुरोध गर्नेदेखि सामानको मूल्य नघटे आन्दोलन गर्ने चेतावनी समेत दिँदै आएका थिए। यसरी चौतर्फि रुपमा विरोध भएपछि नेपाली उद्योगहरुले अहिले फलामजन्य वस्तु स्टीलको मूल्य घटाएका हुन्। यद्यपी उनीहरुले अन्तर्राष्ट्रिय रुपमा नै सामग्रीको मूल्य घटेकोले नेपालमा पनि घटेको धारणा राखेका छन्।
अहिले स्टीलको मूल्य प्रतिकेजी ७७ रुपैयाँसम्म पर्ने गरेको छ। बढेको समयमा प्रतिकेजी ८५ रुपैयाँसम्म पर्ने डण्डीको मूल्य अहिले ७७ रुपैयाँ पर्ने गरेको काठमाडौं स्टीलमा नायव महाप्रबन्धक बिशाल भट्टराईले बताए।
‘केही महिनादेखि विभिन्न निर्माण सामग्रीको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै बढेको थियो, एक साता भयो डण्डीको मूल्य घटेको छ, एक साता अघि प्रतिकेजी ८५ रुपैयाँमा बिक्री हुने स्टीलको मूल्य अहिले हामी ७७ रुपैयाँमा बिक्री गरिरहेका छौं,’ भट्टराईले भने।



लोकपाटी न्यूज
