ओलीजी, तपाईको उल्टो खोपडी देखेर दया लाग्छ : प्रचण्ड

Prachanda-32
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात दशक लडेर ल्याएको उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले खुशीयाली मनाउन नसक्ने बताएका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताले लडेर ल्याएका उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले उत्सव मनाउन नसक्ने बताएका हुन्।

केही दिनअघि जोकरको पछाडि कोही नलाग्ने भन्ने दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै शनिबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनता हँसाएकोमा कोहीलाई आपत्ति भएको भन्दै कटाक्ष गरेका थिए।

दाहालले आइतबार फेरि ओलीलाई जवाफ दिँदै भने, ‘प्रधानमन्त्रीजीले मैले मान्छेलाई हँसाए भनेर किन पीर परेको होला भनेर मलाई प्रश्न गर्नुभएछ। मलाई पिर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ। हामी मातङ मनाएका छौं। मान्छे मर्‍यो, बा आमा मरेपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्ताको बेला हामी कमिक गर्न सक्दैनौं, हाँस्न सक्दैनौं। तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ।’

अध्यक्ष दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहारले देश स्तब्ध हुँदा प्रधानमन्त्री ओली हाँस्दै हिँडेको आरोप लगाए।

‘गणतन्त्रको उत्सवमा जनता नाच्दै हिँड्दा तपाईं रुँदै हिँड्नुभएको थियो। बयलगाडाको कथा हाल्दै। आज तपाईंले संविधानमाथि प्रहार गर्दा सिंगो देश स्तब्ध छ, तपाईं हाँस्दै हिँड्नुभएको छ। विचित्र यही भयो भनेको मात्रै हो। तपाईंको उल्टो खोपडी देखेर अनौठो भाव व्यक्त गरेको मात्रै हो। जति कमिक गर्न चाहनुहुन्छ गर्नुस्। तपाईंलाई त्यो स्वतन्त्रता छ। तर, तपाईंको कमिक जोकरले देखाएको जोकिङ् बाहेक केही होइन भन्ने अधिकार हामीलाई पनि छ।’

कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले दिँदै आएको आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने भन्ने कुरा जनतालाई मूर्ख बनाउन दिइएको अभिव्यक्ति भएको आरोप लगाए।

‘उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न। म भ्रष्टाचार गर्दिनँ, भ्रष्ट्राचार गर्न पनि दिन्न। भ्रष्ट्राचारलाई देख्न पनि सक्दिनँ। योभन्दा भ्रष्ट्राचार विरोधी राम्रो अभिव्यक्ति केही हुँदैन। तर, तपाईंको यो अभिव्यक्ति भ्रष्ट्राचारीहरुलाई बचाउन, जनतालाई मूर्ख बनाउन अघि सारिएको अभिव्यक्ति भयो, हाम्रो आरोप तपाईंलाई यही विषयमा हो,’ दाहालले भने, खुलेआम भ्रष्टाचार भयोभन्दा तपाईंले भ्रष्ट्राचारीलाई आफैं न्यायधीशजस्तो गरेर अदालत, अख्तियारमा मुद्दा छ। तिनीहरुलाई संरक्षित गरेर होइन उहाँ त भ्रष्टाचारी भन्दै किन हिँड्नुहुन्छ ?’

कार्यक्रममा दाहालले निर्वाचन आयोग र सर्वोच्च अदालमाथि आफूहको भरोसा रहेको दोहोर्‍याए। उनले भने, ‘निर्वाचन आयोगले दिनलाई रात, रातलाई दिन पार्ने छैन। सर्वोच्च अदातप्रति पनि हामीलाई भरोसा छ।’