भारतीय गुप्तचर-पत्रकार ओली थर्काउँछन्, हाम्रा परराष्ट्रमन्त्री मोदी भेट्नै पाउँदैनन्

KP oli-and-j-news
लोकपाटी न्यूज

काठमाडौं। सीमा विवाद लगायतका विषयमा औपचारिक वार्ता गर्न भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयास असफल भएको छ। शनिबार दिउँसोसम्म मोदीलाई भेट्ने समय नमिलेपछि मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्किएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीको तीनदिने भारत भ्रमण औपचारिकतामै टुंगिएको छ। शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा विवादमा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरियो। उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार वार्तामा सीमित भयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिबार अपराह्नसम्म असफल भएपछि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्केका छन्। उनले मोदीसँग भेटवार्ताका लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानलमार्फत प्रयास गरेका थिए, तर सफल भएनन्। दुई महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणेदेखि ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भने प्रधानमन्त्रीसँग भेटको सहज अवसर पाएका थिए।

बिहीबार बिहान भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेटेर पनि प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेट गराउन प्रयास गरेका थिए, तर सम्भव भएन। परराष्ट्रमन्त्री ज्ञवालीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्न पाएनन्।

नेपाली दूतावास स्रोतका अनुसार भारतीय पक्षले मोदीसँग ज्ञवालीको भेटवार्ता हुने संकेत दिँदै आएको थियो, तर समय टुंगो लागेको थिएन। विदेश मन्त्रालयले शुक्रबार अपराह्नदेखि शनिबार अपराह्नसम्म कुनै पनि वेला भेटका लागि खबर आउने बताएकाले परराष्ट्रमन्त्री ज्ञवालीले त्यहीअनुसार तयारी गरेका थिए। मोदीसँग भेट सम्भव नभएपछि उनले शनिबार भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार वार्ता गरेका छन्। उनले सिंहमार्फत प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए।

Oli bidesh sachiv
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाकाे भेट

ज्ञवालीको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पनि औपचारिक रूपमा विज्ञप्ति प्रकाशित गरेन । भ्रमणको अघिल्लो दिन मात्रै उनको औपचारिक कार्यक्रम समेटिएको मिडिया एड्भाइजरी जारी गरेको थियो। एड्भाइजरीमा बिहीबार परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुग्ने, शुक्रबार संयुक्त आयोगको बैठकमा सहभागी हुने र शनिबार स्वदेश फर्किने उल्लेख थियो।

यता पछिल्ला दिनमा भने भारतका सामान्य कर्मचारीले पनि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिरहेका छन्। गत कार्तिक ६ गते भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले गोप्य भेट गरेका थिए। परराष्ट्र मन्त्रालयको कुनै प्रतिनिधि नराखी, राति करिब ३ घण्टा भएको गोप्य भेटबारे राजनीतिक र कुटनीतिक क्षेत्रमा व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीको सचिवालयले भेटलाई पुष्टि गर्दै प्रेस नोट नै जारी गरिएको थियो। प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको नोटमा भनिएको थियो – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो। भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो।

ओलीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँग कार्तिक २१ गते भेट गरेका थिए। नेपाली सेनाका प्रधानसेनापतिको निमन्त्रणामा नेपाल आएका नरवणेले राष्ट्रवादी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। कुटनीतिक मर्यादा पालना गरिएका कारण नरवणेको नेपाल भ्रमण भने तुलनात्मक रुपमा विवादमुक्त नै रह्यो। तीन दिने नेपाल भ्रमणमा आएका नरावणेसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा भेट गरेका थिए।

गत मंसीर ११ गते भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल भारत सम्वन्ध र दुईपक्षीय हितका विषमा कुराकानी भएको जानकारी गराइएको थियो। ओली र श्रृंगलाविच भएको भेटमा दुई पक्षीय हित, आपसी सहयोग आदान प्रदान, नेपाल–भारतबीच उत्पन्न समस्या समाधान लगायतका विषयमा कुरा भएको भनिएको थियो।

oli-and-j-news
प्रधानमन्त्री ओली र पत्रकार चाैधरीकाे भेट

ओलीको पछिल्लो सबैभन्दा विवादास्पद भेट भारतीय पत्रकार सुधीर चौधरीसँगको रह्यो। पत्रकार चौधरीसँग ओलीले लामो अन्तर्वार्ता दिँदै नेपाल स्वाधीनताको पक्षमा रहेको भनेका थिए। तर, बालुवाटारबाट बाहिरिएको एउटा फोटोले सुरुमै भेट विवादास्पद बन्यो। पत्रकार चौधरीले प्रधानमन्त्रीसँगको शिष्टाचार उल्लंघन गर्दै खुट्टा खापेको फोटो सामाजिक सञ्जालमा भाइरल नै बन्यो।

ओलीको अन्तर्वार्ताले केही घण्टाको प्रशंसा बटुल्न नभ्याउँदै चौधरीले सगरमाथाबारे गरेको टिप्पणीले आलोचनाको वर्षा सुरु भयो। चौधरीले सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका छन्। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममार्फत् उनले सगरमाथाको पहिलोपटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन्।

बेसक्याम्पमा पुगेर उनले भनेका छन्, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो।’

उनले सगरमाथाको नाम अग्रेजहरुले माउन्ट एभरेस्ट राखे पनि बताएका छन्। तर सगरमाथामाको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्ने उनले बताएका छन्। चौधरीले सगरमाथाको नामाकरण गर्नसमेत भ्याए। राधानाथ सिकदरले नै पहिलोपटक नाप लिएको दावी गर्दै उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्नेसमेत बताए।

‘त्यतिबेला अंग्रेजहरुको शासन थियो, र यहाँ काम गर्ने अग्रेजहरुले नै यसको नाम माउन्ट एभरेस्ट राखे, एन्ड्रु स्कट वले यसको नामाकरण गरेका हुन्, आज हामी यो भन्न चाहन्छौँ कि यो हिमालको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्थ्यो, र राधानाथ सिकदरको नाममा नै हुनुपर्छ। र, भारतलाई यसको लागि एक अभियान चलाउन आवश्यक छ र हामीलाई पनि माउन्ट एभरेस्टमा आफ्नो दावी पेश गर्न आवश्यक छ सारा संसारको सामु’, उनले भनेका छन्, ‘आज म यहाँ राधानाथ सिकदरलाई याद गरिरहेको छु, कि सिकदरले यो हिमालको पहिलोपटक नाप लिए। त्यत्रो ठूलो काम गरे उनले र हामीलाई यस्तो लाग्छ कि यो माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ।’

India-Nepal_meeting_jan15_4QL323o
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरकाे भेट

उनले जी न्युज सगरमाथाको नाम फेर्ने अभियान लागेको समेत बताए। ‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो। म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ। हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ,’ उनले भनेका छन्, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस्। यो अभियान आजबाट हामी सुरु गर्दैछौँ। हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ। अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ।’

नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको प्रधानसम्पादक चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएर सगरमाथा पुगेका हुन्। प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेका हुन्। चौधरीलाई बेसक्याम्प पुर्‍याउने कुराको चाँजोपाँजो प्रधानमन्त्री कार्यालयले नै मिलाएको थियो।

भारतीय विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा भारत भ्रमणमा गएका नेपालका परराष्ट्रमन्त्रीले प्रधानमन्त्री मोदीसँग भेट्न नपाउने तर नेपालका प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर र पत्रकारलाई आफै बोलाएर भेट्ने गरेका घटनाले नेपाल र भारत ‘सार्वभौमिकतामा समान रहेको’ ओली अभिव्यक्तिलाई खण्डित गरिरहेको छ। यो नेपालका लागि आफैमा लज्जाको विषय हो।