विधि र पद्धति नमान्नेहरू पार्टीबाट बाहिरिएः पुन

Barsaman_pun
लोकपाटी न्यूज

दाङ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य वर्षमान पुनले अलोकतान्त्रिक र असंवैधानिक रुपमा गरेको संसद विघटनलाई ढाकछोप गर्न केपी ओली समूहले पदीय झगडालाई आवरण बनाएको बताएका छन्।

पुनले विवाद अमुक नेताहरुबीचको पदीय भागबण्डा नभइ विचार, सिद्धान्त, विधि र पद्धति मान्ने र नमान्नेबीचको लडाईं भएको पनि बताए। प्रचण्ड-नेपालले पदका लागि नभइ ओली प्रवृत्ति सुधार्न खोज्दा नेकपा विभाजन भएको उनको भनाई छ।

ओलीले गत जेठमा पनि विघटनको तयारी गरेपछि प्रचण्डले पुरानो सम्झौतामा लचक भएर पार्टी जोगाएको पुनको दावी छ। पुनले भने, ‘ओली गुटले केही नेताहरुको मान मर्यादा र पदका लागि पार्टीभित्र विवाद झिकिएको भ्रम फैलाउने कोसिस गरेको छ।’

उनले अगाडि भनेका छन्, ‘पदावधिका आधारमा आधा-आधा कार्यकाल सरकार सञ्चालन गर्ने सहमति पनि गरेका थियौँ। तर, केपी ओलीले विचार, सिद्धान्त, विधि र पद्धतिका लागि भएको लडाईंलाई ओली-प्रचण्डको लडाईं ओली-माधव नेपालबीचको लडाईं भन्ने जस्तो बनाएपछि प्रचण्डले तपाईं नै पाँच वर्षका लागि प्रधानमन्त्री हुनुस्, पार्टी अध्यक्ष पनि तपाईं नै हुनुस्। कार्यकारी अधिकार मलाई दिनुस् म पार्टी अगाडि बढाउँछु भन्ने प्रस्ताव गर्नुभएको हो।’

पुनले ओलीले जनतामा गरेका प्रतिबद्धता र बाचामाथि विश्वासघात गरेको आरोप लगाए। कम्युनिष्ट आन्दोलनको मुलधार प्रचण्ड-नेपालले नेतृत्व गरेको पार्टी हुने उनको भनाइ छ। ओलीले जनमतको दुरुपयोग गरेको पुनको आरोप छ।