स्वदेश फर्किंदै मन्त्री ज्ञवाली, मोदीले भेट दिएनन्

Pradip_Gyawali
लोकपाटी न्यूज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।

नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो। तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन। दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारात आउनु अघिदेखि नै प्रयास गरेको थियो।

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो। त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए। तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन्।

मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्किँदै छन्। यस विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टिप्पणी गर्न चाहेनन्।

पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो। मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई अझै कुन रुपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय पर्ख र हेरको रणनीतिमा रहेको संकेतको रुपमा समेत विश्लेषण भइरहेको छ।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए। करिब पैतालीस मिनेट भउको उक्त भेटमा द्विपक्षीय सम्बन्धहरुका बारेमा सौहार्द छलफल भएको भारातका लागि नेपाली राजदूत आाचार्यले बताए। ज्ञवाली र सिंहबीच दुई देशबीचका भावनात्मक, सांस्कृतिक, परम्परागत निकटता बारेमा छलफल भएको राजदूत आचार्यले बताए। नेपालको आन्तरिक राजनीतिक विषयमा भने कुनै छलफल नभएको उनले बताए। कान्तिपुरमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्