नयाँदिल्ली। भारतले शनिबार (आज) देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू गर्दैछ। अभियानको औपचारिक उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै छन्। मोदीले शुक्रबार साँझ ट्वीट गर्दै खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गर्ने बताएका थिए। भोलि बिहान साढे दस बजेदेखि भारतभर खोप अभियान सुरु हुँदैछ, मोदीले ट्वीटमा भनेका थिए।
पहिलो चरणअन्तर्गत शनिबारदेखि खोप लगाउन थालिएको हो। भारत सरकारले पहिलो चरणमा करिब तीन करोडलाई निस्शुल्क खोप दिने घोषणा यसअघि नै गरिसकेको छ। जसअन्तर्गत महामारी नियन्त्रणमा खटिएका स्वस्थकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप लगाउने योजना छ। त्यसपछि पचास वर्ष नाघेका र त्यो उमेरका भएपनि जटिल स्वास्थ समस्या भएकाहरुलाई खोप दिने योजना छ। भारत सरकारले आगामी जुलाईभित्रमा आफ्ना करिब तीस करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ।
शनिबारबाट सुरू हुने खोप कार्यक्रमलाई विश्कै हालसम्मकै ठूलो खोप अभियान दाबी गरिएको छ। पहिलो दिनमा करिब तीन लाख स्वास्थ्कर्मीलाई खोप दिने बताइएको छ। यसका लागि भारतभरमा तीन हजार केन्द्र रहने जनाइएको छ। भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेको बीबीसीले उल्लेख गरेको छ।
अभियानका लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ। भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ। भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ।
अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिन भित्र दुई डोज खोप लिनुपर्ने जनाएको छ। खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन्। ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ।



लोकपाटी न्यूज

