अनाधिकृत पार्किङ निरुत्साहित गर्न ‘ह्वील लक’

Traffic Police
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गरिएका सवारी साधनमा ‘ह्वील लक’ लगाउन शूरु गरेको छ ।

काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित गर्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरिएको हो ।

मङ्गलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । ‘ह्वील लक’ अनाधिकृत रूपमा पार्किङ गरिएका सवारी साधनको पाङ्ग्रामा साँचो लगाउने कार्य हो ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।

यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्