काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण तय भएको छ। मन्त्री ज्ञवाली नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत जान लागेका हुन्।
भारतले भ्रमणका लागि ‘ग्रिन सिग्नल’ दिएपछि बैठकको मिति टुंगो लागेको हो। स्रोतका अनुसार माघ १ गते साँझ आयोगको बैठक बस्ने छ। र, भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ। बैठकको मितिका बारेमा औपचारिक घोषणा हुन भने बाँकी छ।
यसअघि आयोगको बैठकका लागि नेपालतर्फबाट मंसिरको दोस्रो वा अन्तिम साता प्रस्ताव गरिएको थियो। तर, नेपालले प्रस्ताव गरे पनि भारतले अन्तिम सहमति जनाएको थिएन। यसबीच नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण पनि भ्रमणलाई लिएर केही अन्योल बढेको थियो।
तर, राजनीतिक घटनाक्रमका कारण द्विपक्षीय छलफल र संवाद प्रभाविगत हुन नहुने निष्कर्षमा दुई पक्ष पुगेपछि भ्रमणको मिति टुंगोमा पुऱ्याउन भारत सहमत भएको स्रोतको दाबी छ। आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा बसेको थियो। उक्त बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बैठकको अन्तिम तयारी चलिरहेको र बैठकमा नेपाल-भारतबीचका बृहत् विषयहरुमा छलफल हुने बताए। साथै बैठकले जुनसुकै परिस्थितिमा पनि दुई देशबीचको संवाद र छलफल निरन्तर अघि बढ्छ आधार प्रस्तुत गर्ने पनि राजदूत आचार्यको भनाइ छ। ‘बैठकले दुई देशबीचको सम्बन्ध निरन्तर अगाडि बढ्छ भन्ने आधार प्रस्तुत गर्नेछ,’ राजदूत आचार्यले भने।



लोकपाटी न्यूज

