काठमाडौं। नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले उर्जा क्षेत्रमा नेपालले ठूलो फड्को मारिसकेको बताएका छन्। पहिले विद्युत नपुगेर लोडसेडिङ्ग गर्ने अवस्थाबाट अहिले कता हालौं भन्ने स्थितिमा पुगेको दावी गरे। आफू पहिले उर्जामन्त्री भएको बेला थुप्रै प्रयासहरु भएकाले त्यसको नतिजा अहिले देखिएको उनको भनाइ छ।
मन्त्री रायमाझीको गृहजिल्ला अर्घाखाँचीको सन्धिखर्कमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुलमान घिसिङलाई आफूले ल्याएको दावी गरे। ‘कुलमानजीलाई मैले ल्याएर ठिक्क पारेको हुँ, उनले भने, ‘मैले सही गर्न पाइन, जनार्दनजीले कागजमा सही मात्र गर्नुभएको हो।’ थुप्रै जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै उनले ट्रान्समिटर लाइन नहुँदा विद्युत खेर जाने अवस्थामा रहेको बताए।
उर्जा क्षेत्रसँग सम्बन्धित एमसिसी परियोजना परिमार्जनसहित लागू हुनुपर्ने उनले बताए। हित विपरितका बुँदा हटाएर एमसिसी लागू गर्दा नेपाललाई फाइदा पुग्ने उनको धारणा छ।
फरक प्रसंगमा बोल्दै उनले ओली सरकारले ताजा जनादेशमा जाने गरेको निर्णय अग्रगामी कदम रहेको बताए। देशलाई अस्थिरताबाट जोगाउन प्रधानमन्त्री ओलीले यो कदम चालेको र यो निर्णय संविधान सम्वत रहेको उनको भनाइ छ।
प्रचण्ड–माधव समूहले पार्टीभित्र डढेलो लगाउने काम गरेको भन्दै मन्त्री रायमाझीले उनीहरुको अस्तित्व समाप्त भइसकेको जिकिर गरे। ताजा जनादेशबाट आफूलाई अब्बल साबित गर्न छोडेर सडकमा आन्दोलन गरेर पुरानो धङधङी देखाउनु पश्चगामी कदम रहेको उनको तर्क छ।
यद्यपि, रायमाझी अघिल्लोपटक उर्जामन्त्री हुँदा देशमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो। प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले त कसैले लोडसेडिङ गरेर देखाउ आफू नेपालमै नबस्ने घोषणा गरेका थिए। मन्त्री भएर पनि लोडसेडिङ अन्त्यमा कुनै भूमिका नखेलेको व्यापक जनगुनासोका बिच अहिले भने रायमाझी कुलमानको जस आफ्नो पोल्टामा पार्न कसिएका छन्।



लोकपाटी न्यूज

