जाजरकोट, २३ पुस । जाजरकोटको नलगाड नगरपालिकामा सासु–बुहारी अन्तरक्रिया संचालनमा आएको छ । सासु र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लामा यस्तो अन्तरक्रिया सञ्चालन गरिएको हो । नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासु, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ ।
नगरपालिकाका अनुसार गाउँभरीका सासु, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आपसी समझदारी गर्दै भएका समस्यालाई खुलेर राख्नुका साथै एकले अर्कालाई राम्रोसँग बुझ्ने काम भएको छ ।
नगर प्रमुख टेकबहादुर रावलले भने, ‘सासु, बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसाजन्य काम भएकाले यसलाई कम गर्नु पहिलो काम हो, घर शान्ति नभई गाउँ शान्ति हुँदैन ।’
नगर प्रमुख रावलका अनुसार गाउँगाउँमा जति हिंसाका कुरा सार्वजनिक हुन्छन्, ती सबै सासु, बुहारीको द्वन्द्वकै कारणले गर्दा देखिने गरेको छ । अहिले प्रत्येक टोलमा गएर सासु, बुहारी, ससुरा समेतलाई सँगै राखेर छलफल गर्ने काम भइरहेको छ ।
झगडा समाधानका लागि सहजकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन् । अहिले बुहारी भएको व्यक्ति भोलि गएर सासु नै हुने कुराको ज्ञान नहुँदा समस्या आएको अन्तरक्रियामा सहभागी ससुराहरूले बताएका छन् ।
घरमा असमझदारी बढ्दा, झगडाका साक्षी रहेका सानासाना बालबालिकामा मानसिकरूपमा असर पर्नुका साथै उनीहरूको स्वभाव पनि झगडालु हुने गरेको महिला तथा बालबालिका कार्यालयका प्रमुख सकुन्तला आचार्यले बताइन् ।



लाेकपाटी न्यूज

