काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल पक्ष)को स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
नेपालको अधयक्षतामा बसेको स्थायी समिति बैठकले बनाएको कार्यदलका सदस्यहरूमा सुरेन्द्र पाण्डे, भिम रावल, धनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, वेदुराम भुसाल, पम्फा भुसाल, शक्ति बस्नेत, मात्रिका यादव, गिरिराजमणि पोखरेल र गोकर्ण विष्ट सदस्य छन्।
अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन भएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए। पार्टीभित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउन र पार्टी एकताका थप काम गर्न उक्त कार्यदल गठन गरिएको बताइएको छ। स्थायी समिति सदस्य गोकर्ण विष्टले दिएको जानकारी अनुसार नेताहरूको कार्याविभाजन टुंग्याउन कार्यदल गठन भएको हो।
स्थायी समिति बैठक सोमबार १ बजे फेरि बस्ने उनले बताए। बैठकका लागि आज एजेन्डा पनि तय भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ। प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्।
आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि पनि सोमबार छलफल हुने भट्टराईले बताए।



लोकपाटी न्यूज

