एजेन्सी। भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्।
सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो। सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए। सेरम संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो। उसले अहिले नै अक्सफोर्ड/अस्ट्राजेन्का खोपको ५ करोड डोज बनाइसकेको छ। सेरमले यो खोप भारत सरकारलाई प्रति डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारूमा बेच्न लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन्।
खोप कार्यक्रमको तयारी
भारतमा अहिले कोरोना खोप कार्यक्रम सुरु गर्नुपूर्व गरिने पूर्वाभ्यास -ड्राइ रन) चलिरहेको छ। भारतको केन्द्र सरकारले सबै प्रान्तहरुलाई कोरोना खोप कार्यक्रम सुरु गर्न तयार अवस्थामा रहन निर्देशन दिइसकेको छ। त्यसको लागि प्रत्येक प्रान्तको राजधानीमा कम्तीमा तीन स्थानमा ड्राई रन गरिनेछ।
ड्राइ रनको क्रममा मानिसहरुलाई वास्तविक नभई डमी खोप दिइनेछ। यसले मानिसहरुलाई खोपप्रतिको विश्वास बढाउन र खोप आएसँगै तत्काल खोप कार्यक्रम अघि बढाउन सहज हुने जानकारहरुले बताएका छन्। भारतले अहिले मुलुकभरका ९६ हजार खोप दिने मानिसहरुलाई खोप दिने तालिम दिइनेछ।
कसरी वितरण हुनेछ खोप ?
भारतले पहिलो चरणमा जोखिमपूर्ण समुहमा रहेका र फ्रन्टलाइनमा रहेर काम गर्ने ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ। जसमा स्वास्थ्यकर्मीहरु एक करोड छन्। त्यस्तै फ्रन्टलाइनमा काम गर्ने मानिसहरुको संख्या दुई करोड छ। त्यस्तै ५० वर्षभन्दा बढी उमेर भएका र पहिला नै अर्को कुनै दीर्घरोगको समस्या रहेका २७ करोड मानिसले पहिलो चरणमा कोरोना खोप पाउने योजना भारतले बनाएको छ।
एक अर्ब ३० करोडभन्दा धेरै जनसंख्या रहेको भारतमा अन्य मानिसहरुले भने कोरोना खोपको लागि अर्को चरणको प्रतीक्षा गर्नुपर्नेछ। भारतले पहिलो चरणको खोप कार्यक्रम आठ महिनामा सकाइसक्ने बताएको छ। तर, भारतमा समग्रमा एक वर्षमा पाँच करोड ५० लाख मानिसलाई खोप लगाउने गरेको छ। यस्तोमा भारतले राखेको लक्ष्य पूरा हुनेमा भने जानकारहरुले भने आशंका व्यक्त गरेका छन्।



लोकपाटी न्यूज

