राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

Ram-bdr-thapa-badal
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाही गर्न निर्देशन दिएका छन्। राष्ट्रपतिमाथि अशोभनीय नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताएका थिए। उनले उक्त विषयमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

मन्त्री थापाले भने, ‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु।’

अनेमसंघका प्रतिनिधिले विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालीगलौज गर्नेहरु विरुद्ध कानूनी कारबाही गर्न माग गरेका थिए। लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएकोप्रति अनेमसंघले आपत्ति जनाएको छ।

‘आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ-आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ।’ ज्ञापन पत्रमा भनिएको छ।

नाराबाजी गर्ने विरुद्ध कानूनी कारबाही गरिनुपर्ने अन्यथा आफूहरु नै कानूनी प्रक्रियामा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले बताइन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन्। आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नाराबाजी हुने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्