काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ ऐतिहासिक वर्ष हुने दाबी गरेका छन्। उनले संविधान कार्यान्वयनमा इतिहास रच्ने दाबी गरेका छन्। शनिबार आफू निकट काठमाडौं जिल्ला समितिद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यो वर्षमा महान शुद्धीकरणको अभियान सफल हुने दाबी गरेका छन्।
नेपालको कम्युनिष्ट आन्दोलनले त्रिसुली नदीले फोहोर किनारामा फालेझैँ फोहोरहरु फ्याँक्ने उनले दाबी गरे। उनले भने, ‘यो वर्ष माइल स्टोन हुने छ। त्यसमा हाम्रो अठोट छ।’ ओलीले प्रचण्ड-माधव पक्षलाई भेट्नु कुहिएर झरेको फलको संज्ञा दिए। उनले पार्टी एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए। उनले भने, ‘समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि।’
उनले अगाडि भने, ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट। खिया लागेको दुइटा नटबोल्ट खुस्किएको थियो, पार्टी गति साथ अगाडि गयो।’ प्रधानमन्त्री ओलीले असली पार्टी आफ्नो र सूर्य चिन्ह आफ्नो भएको दाबी गरे।
‘निर्वाचन आयोगमा निवेदन हालेछन् असली हामी हौँ भनेर। के यो बरमजीयको पेडा पसल हो ? असली भन्ने असली बुढाको पेडा पसल। पेडा पसल हो असली,’ उनले भने, ‘पार्टी असली हामी हो सूर्य चिन्ह हामीलाई दिनुहोला। निवेदन हालेका रहेछन्। जसको घर हो उ निवेदन हाल्न जान्छ ? हामी निवेदन हाल्न जानुपर्दैन। निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँसे होलान्!’
ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा कायमै राखेको बताए। ‘प्रचण्डलाई अध्यक्षमा राखेका छौं। माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौं। अरु साथीहरुलाई पनि राखेका छौँ,’ उनले भने, ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन। कारणहरु होला। आउन होला। हामी कुनै हतारो गसिररहेका छैनौं। सम्झाउन खोजिरहेका छौं।’
व्यंग्यात्मकशैलीमा प्रधानमन्त्री ओलीले अघि भने, ‘पेरिसडाँडामा के के चलेको छ। प्रदेश स्तरीय भेला। अलि अलि मान्छे सीसीमा रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ। उहाँहरुको भेला त्योभन्दा बढी हुँदैन। टाउको दुखेको, पेट दुखेको, गलेका खसखस सबैको औषधि त्यहीँ पाइन्छ। त्यहाँ पनि त्यति मान्छे जान्छन्।’
ओलीले नेपालको नक्सा छापेवापत उनीहरुलाई छटपटी परेको बताए। ‘नक्सा छापेवापत कस्तो छटपटी छ। उहाँहरुको एजेन्डा त्यो होइन। सपना फेरि कत्रो देखेको ? कार्की बैंक्वेटमा जानुभएछ। खानपिन गर्नुभयो होला ? केपी ओलीलाई निकालिदियौँ भनेर पत्र पठाएछन्। जसको कटेरो उसको पुच्छर बाहिर। सरकारले जति काम गर्न सक्थ्यो। तर गर्न दिइएन । सरकारले जे काम गरेको थियो। त्यो प्रचारित हुन पाएन। कतिसम्म भनेको तपाईँहरुले सुनिसक्नुभयो। धरहरा बनाएको केपी ओलीले होइन इन्जिनियरले हो रे ! त्यति पनि थाहा छैन,’ उनले भने।



लोकपाटी न्यूज

